काठमाडौं । बलिउडमा अभिनेता आमिर खानलाई मिस्टर पर्फेक्टनिस्टका नामले पनि चिनिन्छ । यी लोकप्रीय कलाकारले आफ्नो करियलमा विभिन्न चलचित्रहरूमा काम गरेका छन् ।
फिल्मी करियरका दौरान अभिनेता आमिरले विभिन्न अभिनेतृहरूसँग पनि काम गरेका छन् । उनका चलचित्रहरू बक्स अफिसमा हिट हुने गरेका छन् । उनले बलिउडमा विभिन्न ट्रेन्ड पनि सेट गरेका छन् ।
आमिर आफ्नो व्यावसायिक जीवनका साथसाथै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहने गरेका छन् । उनले दुई विवाह गरेका छन् । यद्यपि, ती दुवै विवाहबाट उनको सम्बन्धविच्छेद भइसकेको छ ।
उनका आयरा, जुनैद र आजाद गरी तीन जना छोराछोरी छन् । उनी अहिले ५९ वर्षका भएका छन् । र, यो समयमा उनको तेस्रो विवाहको विषयले चर्चा पाएको छ ।
आमिर स्वयंले तेस्रो विवाहका बारेमा आफ्नो कुरा राखेका छन् । रिया चक्रवर्तीको पोडकास्टको च्याप्टर २ मा आमिरलाई उनको तेस्रो विवाहको बारेमा प्रश्न गरिएको थियो ।
जवाफमा आमिरले भनेका छन्- म ५९ वर्षको भएँ । मलाई लाग्दैन कि म फेरि विवाह गर्नेछु । यसो हुन गाह्रो देख्छु म । यो समय मेरो जीन्दगीमा यति सम्बन्धहरू छन् । म फेरि आफ्नो परिवारसँग जोडिएको छु । मेरा छोराछोरी छन् । भाइ बहिनी छन् । म आफ्ना नजिककाहरूसँग खुसी छु । असल व्यक्ति बन्नका लागि काम गरिरहेको छु ।
आमिरले सन् १९८६ मा रीना दत्तसँग विवाह गरेका थिए । यी दुईका दुई छोराछोरी आयरा र जुनैद छन् । सन् २००२ मा रीना र आमिरको सम्बन्धविच्छेद भएको थियो ।
यसपछि सन् २००६ मा आमिरले किरण रावसँग विवाह गरे । यी दुईका एक छोरा आजाद छन् । सन् २०२१ मा किरण र आमिरको सम्बन्धविच्छेद भएको थियो ।
यद्यपि, दुवै पूर्वपत्नीहरूसँग आमिरको सम्बन्ध राम्रो रहेको र कतिपय स्थानमा उनीहरू एक साथ देखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।