काठमाडौं । भारतीय चलचित्र उद्योगमा उच्च पारिश्रमिक लिने अभिनेताहरूको चर्चा हुँदा धेरैले प्रभासको नाम लिने गर्दछन् । उनी एउटा चलचित्रमा अभिनय गरेबापत १०० करोड भारु पारिश्रमिक लिने गर्दछन् ।
तर, सन् २०२४ मा एक यस्ता भारतीय अभिनेता छन् जसले सर्वाधिक पारिश्रमिक लिएका छन् । उनी अभिनित फिल्म मस्ट वेटेड रहेको पनि भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
उनले लिएको पारिश्रमिकले बलिउडदेखि साउड फिल्म इन्डस्ट्रिजसम्म हलचल मच्चिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन् ।
ती अभिनेता हुन् साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार थालापती विजय । ५० वर्षीय यी अभिनेताले 'द ग्रेटेस्ट अफ अल टाइम' मा अभिनयका लागि यति ठूलो रकम पारिश्रमिक लिएका हुन् ।
यो फिल्मलाई साउथ फिल्म इन्डस्ट्रीको मस्ट वेटेड फिल्मका रूपमा पनि हेरिएको थियो ।
'द ग्रेटेस्ट अफ अल टाइम' की प्रोड्युसर अर्चना कलपतीले दिएको एक अन्तर्वार्तामा चलचित्रका लागि थालापतीले लिएको पारिश्रमिकबारे बताएकी छन् । उनले भनेकी छन्- थालापतीलाई यो चलचित्रमा अभिनय गरेबापत २०० करोड भारु पारिश्रमिक दिइएको थियो ।
यो चलचित्रको बजेट ४०० करोड भारु रहेको छ । जबकी थालापतीले मात्रै २०० करोड भारु पारिश्रमिक लिएका छन् । र बाँकी २०० करोडमा बाँकी कलाकार र चलचित्रसम्बन्धी काम गरिएको छ ।
यसअघि थालापतीको लियो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । उक्त चलचित्रले ६०० करोड भारु कलेक्सन गरेको थियो । उक्त चलचित्रको बजेट २५० देखि ३०० करोड भारुसम्म रहेको बताइएको छ । उक्त चलचित्रमा अभिनय गरेबापत पनि थालापतीले १२० करोड भारु पारिश्रमिक लिएका थिए ।