काठमाडौं । टेस्ट क्रिकेटमा सबैभन्दा छिटो तेहेरो शतक लगाउनु एक अविश्वसनीय उपलब्धि हो । यो कुनै पनि ब्याटरका लागि गर्वको कुरा पनि हो । यसले ब्याटरहरूको खेल्ने तरिका, धैर्य तथा विपक्षलाई दबाबमा राख्न सक्ने क्षमतालाई देखाउँछ ।
यो उपलब्धि हासिल गर्नका लागि ब्याटरहरूले द्रूत गतिमा रन बनाउनु आवश्यक हुन्छ । तर, टेस्ट क्रिकेटमा छिटो छिटो रन बनाउनु त्यति सहज भने हुँदैन । सोही कारण टेस्ट क्रिकेटमा प्रहार गरिएको तेहेरो शतकलाई निकै महत्त्वका साथ हेरिन्छ ।
आज यहाँ टेस्ट क्रिकेटमा विश्वाका सर्वाधिक छिटो तेहेरो शतक लगाउने ब्याटरका बारेमा चर्चा गर्नेछौँ । टेस्ट क्रिकेटमा सबैभन्दा छिटो प्रहार गरिएका तेहेरो शतक यसप्रकार छः
विरेन्द्र सहबाग
विरेन्द्र सहबाग सर्वाधिक छिटो टेस्ट क्रिकेटमा तेहेरो शतक लगाउने विश्वकै नम्बर १ ब्याटर हुन् । सहबागले दक्षिण अफ्रिकाविरुद्ध सन् २००८ मा यो उपलब्धि हाँसिल गरेका हुन् ।
सन् २००८ मा खेलिएको चेन्नई टेस्ट म्याचमा सहबागले केबल २७८ बलमा तेहेरो शतक पूरा गरेका थिए । उक्त प्रतियोगितामा सहभागले कुल ३०४ बलको सामना गरे भने ३१९ रन जोडे ।
उक्त पारीमा सहबागले ४२ चौका तथा ५ छक्का प्रहार गरेका थिए ।
म्याथ्यु हेडन
यो लिस्टमा अस्ट्रेलियका पूर्व ब्याटर म्याथ्यु हेडनको नाम दोस्रो नम्बरमा रहेको छ । उनले जिम्बाबेविरुद्ध यो उपलब्धि हाँसिल गरेका हुन् ।
सन् २००३ मा खेलिएको पर्थ टेस्टमा हेडनले ३६२ बलमा आफ्नो तेहेरो शतक पूरा गरेका थिए । यो प्रतिस्पर्धामा हेडनले ४३७ बलको सामना गरेर ३८० रन जोडेका थिए ।
उक्त पारीमा हेडनले ३८ चौका तथा ११ छक्का प्रहार गरेका थिए ।
विरेन्द्र सहबाग
यो लिस्टको तेस्रो नम्बरमा पनि भारतीय ब्याटर विरेन्द्र सहबागको नाम रहेको छ । उनले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा विश्वकै सर्वाधिक तेस्रो छिटो तेहेरो शतक प्रहार गरेका थिए ।
पाकिस्तानको मुल्तानमा खेलिएको टेस्ट क्रिकेटमा सशबागले ३६४ बलमा आफ्नो तेहेरो शतक पूरा गरेका थिए । उनले २९५ रनको स्थितिमा रहेका बेला छक्का प्रहार गर्दै तेहेरो शतक पूरा गरेका थिए ।
उक्त प्रतियोगितामा सहबागले ३७५ बलको सामना गर्दै ३०९ रन बनाए ।
करुण नायर
यो लिस्टको चौथो नम्बरमा नाम आउँछ भारतीय ब्याटर करुण नायरको । उनले पनि चौथो सर्वाधिक छिटो टेस्ट क्रिकेटमा तेहेरो शतक प्रहार गरेका छन् ।
नायरले इङ्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा यो इतिहास रचेका हुन् । सन् २०१६ मा भएको खेलमा नायरले ३८१ बलमा तेहेरो शतक प्रहार गरे ।
नायरले पाँचौँ नम्बरमा ब्याटिङ गर्दै ३०३ रनको अविजित पारी खेलेका थिए । उनले आफ्नो पारीमा ३२ चौका र ४ छक्का प्रहार गरेका थिए ।
डेबिड वार्नर
यो लिस्टको पाँचौँ नम्बरमा नाम आउँछ अस्ट्रेलियाका ब्याटर डेबिड वार्नरको । उनले पाकिस्तानविरुद्ध सन् २०१९ मा यो उपलब्धि हासिल गरेका हुन् ।
सन् २०१९ मा खेलिएको एडिलेड टेस्टमा वार्नरले ३८९ बलमा आफ्नो तेहेरो शतक पूरा गरेका थिए । यो प्रतिस्पर्धामा वार्नरले ४१८ बलमा ३३५ रनको अविजित पारी खेलेका थिए ।
यो पारिमा वार्नरले ३९ चौका तथा १ छक्का प्रहार गरेका थिए ।