काठमाडौं । त्यसो त शोयब अख्तर पाकिस्तानका पूर्व खतरनाक बलर हुन् । उनले गरेको बलिङ सामना गर्न निकै प्रतिभावान ब्याटरहरूलाई पनि हम्मेहम्मे पर्दथ्यो ।
उनले आफ्नो खेल जीवनमा विश्वका चर्चित खेलाडीहरूलाई घुँडा टेकाएका छन् । अहिले भने उनको चर्चा फरक विषयमा भएको हो । उनले हालै एक दिवसीय क्रिकेटमा आफ्नो अलटाइम प्लेइङ ११ चुनेका छन् । जसमा क्रिकेटका महान् खेलाडीहरूको नाम समावेश गरिएको छ ।
शोयब अख्तरले आफ्नो प्लेइङ ११ मा भारत र पाकिस्तानका ४/४ खेलाडीको नाम चयन गरेक हुन् । तर, उनको प्लेइङ ११ मा रोहित शर्मा, विराट कोहली, शाहिद अफ्रिदीलगायत खेलाडीको नाम भने छैन । त्यति मात्र होइन शोयबले आफ्नो प्लेइङ ११ मा सन् १९९२ मा पाकिस्तानलाई एक दिवसीय विश्वकप जिताउने कप्तान इमरान खानको नाम पनि समावेश गरेका छैनन् ।
शोयबले आफ्नो प्लेइङ ११ मा सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, युवराज सिंह तथा कपिल देवको नाम उल्लेख गरेका छन् ।
शोयबले आफ्नो प्लेइङ ११ मा ओपनरको रूपमा वेस्टइन्डिजका महान् क्रिकेटर गोर्डन ग्रिनिजको नाम लिएका छन् । ग्रिनिजको ओपनिङ साझेदारका रूपमा भने भारतका तेन्दुलकर चयन गरेका छन् ।
शोयबले ३ नम्बरमा ब्याटिङका लागि पाकिस्तानका पूर्वकप्तान इन्जमाम उल हकको नाम लिएका छन् भने चौथो नम्बरमा सइद अनबरको नाम लिएका छन् ।
उनले पाँचौँ नम्बरमा विकेटकिपर ब्याटरको रूपमा महेन्द्रसिंह धोनीको नाम उल्लेख गरेका छन् । नम्बर ६ मा भने उनले अस्ट्रेलियाका एडम गिलक्रिस्टको नाम लिएका छन् । त्यस्तै उनले सातौँ नम्बरमा ब्याटिङका लागि अलराउन्डर युवराज सिंहको नाम लिएका छन् ।
उनले आफ्नो प्लेइङ ११ मा आठौँ नम्बरमा अस्ट्रेलियाका शेन वार्नको नाम उल्लेख गरेका छन् । शोयबले एक मात्र स्पिन बलरको रूमा वार्नको नाम लिएका हुन् । शोयबले कप्तानका लागि पनि वार्नकै नाम चुनेका छन् ।
त्यस्तै तीन जना तीब्र गतिको बलरमा शोयबले वासिम अक्रम, वकार युनुस तथा कपिल देवको नाम लिएका छन् ।
शोयब अख्तरको अल टाइम वान डे प्लेइङ ११: गार्डन ग्रिनिज, सचिन तेन्दुलकर, इन्जमाम उल हक, सइद अनवर, महेन्द्र सिंह धोनी (विकेटकिपर), एडम गिलक्रिस्ट, युवराज सिंह, शेन वार्न (कप्तान), वासिम अक्रम, वकार युनुस र कपिल देव ।