काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षको खबरदारीलाई गम्भीर रूपमा लिन आग्रह गरे ।
सरकारले बाढीपहिरोको क्रममा चरम लापरबाही गरेको उल्लेख गर्दै प्रचण्डले उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापरबाही नगरोस् भनेर खबदारी गरे ।
यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उल्लेख गर्दै प्रचण्डले सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकारले पुष्टि गरेको बताए ।
'दलाल र पुँजीवादीहरूसँग सहकार्य गर्नु गल्ती थियो'
आफूहरूले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’
माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।
भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए । अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए ।
'नेपालमा माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैन'
प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको उनको दाबी छ ।
प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको दावी गरे । अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको उनको तर्क छ ।
चार दिनको तयारीले गरेको खबरदारीसभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै विरोधसभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे । आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोल चर्कदै जाने बताए ।
बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरूले थालेको सुशासनको अभियान, उर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने चेतनावी दिए ।
अहिले देशका दलाल, भ्रष्ट र विचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उनको भनाइ छ । जनताको हकअधिकारका लागि निरन्तर लड्ने उनले प्रतिबद्धता जनाए ।
'एक्लै चुनाव लडेर गल्ती सच्याउन चाहन्छौँ'
प्रचण्डले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताए । विगतमा कांग्रेस, एमाले जस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको उनको भनाइ छ ।
माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनको भनाइ छ । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिनेछन् ।’
अब आफूहरूले बन्दुक बाँड्नु छैन भन्दै जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौँ युवाहरूलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनको भनाइ छ ।
'ज्ञानेन्द्र शाहलाई भेटेको छैन'
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्ने समाचारहरूको खण्डन गरे । पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने उनको भनाइ छ ।
‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन,’ प्रचण्डले भने, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’
'सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?'
उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध जनाए । संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’
कतिपयले खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रूपमा गलत व्याख्या गरेको उल्लेख गर्दै उनले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको विरोध गरेको बताए । पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग विचौलियालाई बेच्ने काम भए त्यो नेपाली जनतालाई सैह्य नहुने उनको भनाइ छ ।
'भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?'
नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर उनले सरकारलाई प्रश्न गरे । नक्कली भुटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सरकार सच्चिनुपर्ने बताए । ‘नत्र संसद र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’ प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्नेछ ।’
संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न आग्रह गर्दै उनले त्यसभन्दा माथि जनता हुने बताए । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’ प्रचण्डले भने, ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’
सरकारले ७० नम्बर ल्यायो भनेर प्रधानमन्त्रीले भनेको भन्दै प्रचण्डले भने, ‘अहिले नै ७० आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’
पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।
'गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद हुन्छ'
उनले सरकारका गलत कदमविरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिए । प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने उनको चेतावनी छ ।
‘संसद र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’ प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्नेछ ।’