काठमाडौं । किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या ।’
तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन् । ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो ।’
मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन् । ‘धम्क्याउनेहरूले अनेक कुरा सुनाउँछन् । कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे । कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन् ।’
सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन् । तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए ।
गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पासो लगाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन् ।
‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पीडा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ । चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला ।’
उनले संगीताको आत्महत्या हत्या नै भएको बताइन् । ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घटना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अपराधीहरूलाई कारबाही गर्न साथ दिएको भए छोरीले मृत्युवरण गर्नुपर्ने थिएन’, उनले भनिन् ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।