काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १९ महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो ।
वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् ।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।
वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ भने १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।
समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै विदेशी मुद्रा सञ्चिति पनि २५ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ ।
गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति २३.१ प्रतिशतले बढेको छ ।
वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २०.५ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।