काठमाडौं । लन्डनको लर्डस् क्रिकेट मैदानमा खेलाइएको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गर्दै च्याम्पियन्स बन्यो । यसपटक लर्ड्समा दक्षिण अफ्रिकाले उपाधि मात्र जितेन आफूमाथि लाग्दै आएको 'चोकर्स' को ट्याग पनि मेटाइदिएको छ ।
दक्षिण अफ्रिकी क्रिकेट टिम प्रायः सधैँ र सबै टोलीका लागि बलियो प्रतिद्वन्द्वी रहँदै आएको छ । तर, आईसीसीको महत्त्वपूर्ण स्पर्धामा भने सधैँ लय गुमाउने टोलीका रूपमा यसको चित्रण हुँदै आएको थियो । जसका कारण यो टोलीलाई चोकर्स भनिने गरिन्थ्यो ।

यसपटक पनि विश्व टेस्ट च्याम्पियनसिपको उपाधि चुम्नका लागि दक्षिण अफ्रिकालाई अस्ट्रेलिया जस्तो निकै बलियो मानिने टोलीलाई परास्त गर्नुपर्ने चुनौती थियो । तर, टेम्बा बभुमाको कप्तानीमा दक्षिण अफ्रिकाले त्यो काम फत्ते गरेको छ । अनि उपाधि चुमेको छ ।
सन् १९९८ मा दक्षिण अफ्रिकाले आईसीसी नकआउट ट्रफी जितेको थियो । त्यसलाई पछि नाम फेरेर च्याम्पियन्स ट्रफी बनाइयो । त्यसयता पहिलोपटक दक्षिण अफ्रिकाले आईसीसीको कुनै पनि प्रतिस्पर्धाको उपाधि चुमेको हो । यो एक उपाधिपछि अर्को उपाधिका लागि दक्षिण अफ्रिकाले खर्चिएको निकै लामो समय हो ।

सन् १९९८ पछि आईसीसीको उपाधि चुम्ने दक्षिण अफ्रिकाको कुनै पनि प्रयास सफल भएन । त्यसैले दक्षिण अफ्रिकाको बारेमा भन्न थालियो यो टिमले महत्त्वपूर्ण खेलमा लय गुमाउने गर्दछ ।
दक्षिण अफ्रिका कति बलियो टोली हो भन्ने कुराको अनुमान यस आधारमा पनि लगाउन सकिन्छ कि यसले सन् २००२ यता मात्र च्याम्पियन्स ट्रफीको पाँच संस्करणमा सेमीफाइनल खेलेको छ । सन् २०००, २००२, २००६, २०१३ र २०२५ मा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल्यो । तर, पनि उपाधि चुम्ने सपना भने साकार पार्न सकेन ।

दक्षिण अफ्रिकाले सन् १९९२, २००७, २०१५ र २०२३ गरी चारपटक त एक दिवसीय विश्वकप (ओडीआई वर्ल्डकप) खेलिसकेको छ । तर, पनि उपाधि चुम्न भने सकेन । गत वर्ष सम्पन्न टी २० विश्वकपको फाइनलसम्म पुगेर पनि दक्षिण अफ्रिका उपाधिबाट विमुख हुनुपरेको थियो । त्यसबेला फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
भनिन्छ जीवनमा हारको पनि र जितको पनि अन्त्य हुन्छ । अनि निरन्तर प्रयास गरिरहँदा हार्नेहरूको जित हुन्छ भने प्रयास नपुग्दा जित्नेहरू हार्न पुग्छन् । त्यसैको उदाहरण यस वर्षको विश्व टेस्ट च्याम्पियनसिप बनेको छ ।

अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन्सको डिफेन्डिङ च्याम्पियन पनि हो । उ उपाधि रक्षा गर्न तयार थियो । तर, त्यसलाई अवरोध पुर्यायो दक्षिण अफ्रिकाको टोलीले ।
दक्षिण अफ्रिकाको जितमा एडन मार्करमले ठूलो योगदान दिए । लर्डस्मा उनले खेलेको शतकीय पारीले लेख्यो दक्षिण अफ्रिकाको जितको इतिहास । जितका नायक बनेका मारकरमले बनाएको १३६ रन क्रिकेटको इतिहासमा सितिमिति बिर्सिइने छैन ।

शतकीय पारी खेलेर टिमलाई जितको सुनिश्चितता गराएका मारकरम अस्ट्रेलियाविरुद्ध विजयी रन प्रहार गर्न क्रिजमा भने उपस्थित थिएनन् ।
मारकरम दक्षिण अफ्रिकालाई जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका थिए । तर, त्यतिबेलासम्म मारकरमले दक्षिण अफ्रिकाको जितको रुपरेखा बनाइसकेका थिए । उनी नै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको म्यान अफ दि म्याच बने । यो पनि उनका लागि निकै गर्व गर्ने कुरा हो ।

दक्षिण अफ्रिकाको जितमा कप्तानका रूपमा टिमको नेतृत्व गरेका टेम्बा बभुमाको योगदान पनि ठूलो छ । बायाँ खुट्टाको ह्यमस्ट्रिङका बाबजुत उनी लडाकु योद्दाका रूपमा जसरी मैदानमा उनी डटीरहे त्यसको प्रशंसा विश्वभरका क्रिकेट विश्लेषकहरूले गरेका छन् ।
यो खेलले बभुमाको नाममा अर्को इतिहास पनि बनाएको छ । उनी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा सर्वाधिक ६६ रन बनाउने कप्तान बनेका छन् । यसअघि यो कीर्तिमान न्युजिल्यान्डका केन विलियमसनको नाममा थियो ।

अनि दक्षिण अफ्रिकाको जितमा विर्सनै नसकिने अर्को पक्ष हो रबाडाको रफ्तार । यी दक्षिण अफ्रिकी बलर कागिसो रवाडाले दुई इनिङ्समा अस्ट्रेलियाको ९ विकेट लिएर दक्षिण अफ्रिकाको विजयको आधार तयार पारिदिए ।
यी तमाम पक्ष र पहलुहरूले यसपट विश्व टेस्ट च्याम्पियनसिपको विजेतामा दक्षिण अफ्रिकाको नाम लेखिदिएको छ । अनि टेम्बाले सितिमिति टेस्ट म्याच हर्दैनन् भन्ने कुरा एकपटक फेरि प्रमाणित गरिदिएका छन् ।