काठमाडौं । मुलुकको राजधानीमा रहेको काठमाडौं महानगरपालिकामा तीव्र राजनीतिक दाउपेच र चलखेल देखिएको छ । सबै पक्षको आ-आफ्नै अडानका कारण आगामी आर्थिक वर्षको बजेटसमेत प्रभावित हुने देखिएको छ ।
संघीय सरकारले प्रत्येक वर्षको जेठ १५ गते संसदबा बजेट प्रस्तुत गर्दछ । त्यस्तै प्रदेश सरकाले असार १ मा बजेट ल्याउछ । स्थानीय सरकारहरूले भने १० असारमा बजेट प्रस्तुत गर्ने अभ्यास छ ।
तर, यस वर्ष काठमाडौं महानगरपालिकाले उक्त अवधिमा बजेट प्रस्तुत गरेन । त्यसो हुनुमा तीव्र राजनीतिक चलखेल जोडिएको छ । त्यसो त अन्य केही स्थानीय तहले पनि बजेट ल्याउन सकेका छैनन् । तर, राजधानीमै रहेको र सबैभन्दा ठूलो बजेट प्रस्तुत गर्ने भएकाले काठमाडौंको बजेटलाई चासोका साथ हेरिने गरिएको छ ।
तर, यसपटक तीव्र राजनीतिक दाउपेचका कारण काठमाडौं महानगरपालिकाले समयमै बजेट ल्याएन । मुलुकमा रहेका ६ महानगरपालिकामा काठमाडौंले मात्र यसपटक समयमा बजेट ल्याउन नसकेको हो । त्यसको प्रमुख कारण हो- काठमाडौं महानगरमा विद्यमान आन्तरिक विवाद ।
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच विवाद छ । बालेनले सुरुमा गुरागाईंलाई हाजिर हुनबाट रोकेका थिए ।

तर, निकै लामो समयसम्म उनीहरूबीच विवाद भएर महानगरको काम प्रभावित हुन थाल्यो त्यसपछि उपमेयर सुनिता डंगोलले हस्तक्षेप गरिन् । महानगर प्रहरीको अवरोधका बाबजुत डंगोलले गुरागाईंलाई महानगरमा हाजिर गराइन् ।
गुरागाईं हाजिर भएपछि बालेन निकट मानिने काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेलाई निलम्बन गरिदिए । पछि पाण्डेले अदालत गए । अदालतले आदेश दिएसँगै उनी महानगरमा हाजिर भए ।
महानगरको बजेट निर्माण प्रकृयामा प्रमुख प्रशासकीय अधिकृतको महत्त्वपूर्ण भूमिका हुन्छ । यस्तोमा बालेनले आफूसँग तीव्र विवाद परेका गुरागाईंलाई बजेट निर्माणमा सामेल गराउन चाहेका छैनन् भन्ने प्रस्ट बुझिन्छ ।
उता, संघीय सरकारले पनि बालेनको विरोधका बाबजुत गुरागाईंलाई नै काठमाडौंमा खटाएको छ । संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिदिए पनि काठमाडौंको विवाद केही मत्थर हुने कतिपयको अनुमान छ । तर, संघीय सरकारले पनि त्यसो गर्न नचाहँदा काठमाडौंको बजेट समयमा आउन नसकेको हो ।