काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।
पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी हुनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्त्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्त्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए । ‘म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिंदै आएको छु,’ उनले भने ।
चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उनको भनाइ छ । ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन् । चलचित्र कालजयी पनि हुन्छन्,’ उनले भने । सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले विधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ थियो । ‘तपाईंहरूको सुझावलाई ग्रहण गर्नुपर्छ । यसले विधेयकलाई सशक्त बनाउँछ,’ उनले भने ।
शिक्षा विधेयकबारे चर्चा गर्दै प्रचण्डले संविधानको भावनाअनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको बताए । ‘हामी देश र जनतालाई अगाडि लैजानु पर्छ भन्नेमा छौँ । तर केही तत्त्वहरूले यसको विरोधमा छन्,’ उनले भने । अहिले पाइपलाइनमा रहेका विधयेकहरूमा सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने उनको भनाइ छ ।
उनले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने विश्वास दिलाए ।