काठमाडौं । फिफा क्लब विश्वकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । आज बिहान अन्तिम १६ को खेल समाप्त भएसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो ।
फ्लुमिनेसे, अल हिलाल, पालमेइराज, चेल्सी, पीएसजी, बायर्न म्युनिख, रियल मड्रिड र बुरोसिया डर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनल प्रवेशका लागि फ्लुमिनेसेले अल हिलालको सामना गर्नेछ । अन्तिम १६ मा इन्टर मिलानलाई पराजित गर्दै फ्लुमिनेसेले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो भन् म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै अल हिलाल अन्तिम ८ मा पुगेको हो ।
क्वाटरफाइनलको अर्को खेलमा पालमेइराजले चेल्सीको सामना गर्नेछ । अन्तिम १६ मा बेनफिकालाई पन्छाउँदै चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो भने बोटाफोगोलाई स्तब्ध पार्दै पालमेइराजले चेल्सीसँगको भेट पक्का गरेको हो ।
त्यस्तै अर्को खेलमा सेमिफाइनलमा पुग्नका लागि पीएसजी र बायर्न म्युनिख आमनेसामने हुँदै छन् । पीएसजीले इन्टर मियामीलाई पराजित गर्दै अन्तिम ८ मा पुग्दा फ्लामेङ्गोलाई पराजित गर्दै बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।
क्वाटरफाइनलको अर्को खेलमा सेमिफाइनल प्रवेशका लागि रियल मड्रिडले बोरुसिया डर्टमण्डको सामना गर्नुपर्ने भएको छ । रियल मड्रिडले युभेन्टसलाई पराजित गर्दै अन्तिम ८ मा पुगेको हो भने मोन्टेरीलाई पराजित गर्दै बोरुसियाले रियलसँगको भेट पक्का गरेको हो ।