काठमाडौं । आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियान चलाइरहेको छ । सहकारीको रकम अपचलन, सम्पत्ति सुद्धिकरणलगायतका मुद्दा लामिछानेमाथि चलिरहेको छ । अहिले उनी उक्त प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
तर, सरकारले लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा पठाइएको एजेन्डा स्थापित गराउने प्रयासमा रास्वपा छ । सोही विषयलाई जनतासम्म पुर्याउने उद्देश्यले सो पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ ।
सोमबार उक्त अभियानमा साथ दिन पुगे- मधेश सरकारको नेतृत्व गरिरहेको दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत । आफ्ना पार्टी सभापतिको पक्षमा हस्ताक्षर गर्न आएका उनलाई रास्वपाका नेताहरूले न्यानो स्वागत पनि गरे ।

मधेशमा सरकारको नेतृत्व गरिरेको जनमतलाई आगामी आर्थिक वर्षको बजेट पास गराउन हम्मे हम्मे परेको थियो । प्रस्ट बहुमतमा रहे पनि मुख्यमन्त्री सतीश कुमार सिंहलाई सदनमा बजेटमाथि छलफल गराउन निकै परिश्रम गर्नुपर्यो ।
तर पनि बजेटमाथि पर्याप्त छलफल हुन पाएन । त्यसको कारण हो- विपक्षीहरूको अवरोध । विपक्षीहरूको नेतृत्व भने मधेशको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले गरेको थियो ।
सरकारले बजेट पास गरिरहँदा सोमबार पनि विपक्षी दलहरूले सदन बहिस्कार गरेका छन् । बजेटमा विचौलिया हाबी भएको, सरकारले बजेटमा रहेका त्रुटि सच्याउन गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले बहिस्कार गरेका थिए ।
विपक्षी दलहरूले बहिस्कार गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेको साथ पाएका मुख्यमन्त्री सिंहले बजेट पास गराए । जसपा नेपालले मधेशमा नेपाली कांग्रेस र एमालेको साथ पाएन ।
सोमबारै काठमाडौंमा अर्को घटना भयो । त्यही जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलीय बालुवाटार बैठकमा सहभागी भए ।
उक्त बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष यादव, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, जसपा नेपालका राजकिशोर यादवलगायत नेताहरू उपस्थित थिए ।
प्रधानमन्त्री ओलीको सचिवालयले यसलाई तीन दलका शीर्ष नेताबीचको छलफल भनेको छ । जसपा नेपाल सरकारमा सहभागी भएको छैन । तर, सरकारलाई भने समर्थन गरेको छ ।
यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय गरेको जसपाका नेताहरूले सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
बालुवाटारमा भएको वार्तापछि उपेन्द्र यादवले फेसबुकमा लेखेका छन्:
आज प्रधानमन्त्री निवास बालुवाटारमा म लगायत प्रधानमन्त्री के पी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थमन्त्री विश्नु पौडयाल, गृह मन्त्री रमेश लेखक सहितको उपस्थितिमा मुलुकको केही राजनीतिक विषयमा छलफल भयो ।उक्त बैठकमा मैले वारा , पर्सा लगायत को जिल्लाहरुमा पानीको अभाव भएकोले सरकार ले तुरुन्त आबस्यक कदम चाल्नु पर्ने कुरा उठईयो। प्रधानमन्त्री ले भोली देखिनै सरकार ले बोरिङ्ग लगायत अन्य आवस्यक कार्य गरी पानीको ब्यवस्था गर्ने प्रतिवध्द्ता ब्यक्त गर्नु भयो।
|
जसपा नेपालले यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर, बालुवाटारमा भएको वार्तापछि जसपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएको छ । अध्यक्ष यादवले मुलुकका केही राजनीतिक विषयमा छलफल भएको भन्दै केही संकेत गरेका छन् । तर, यसबारे प्रस्ट रूपमा उल्लेख भने गरेका छैनन् । यसका साथै विकासका सवालमा केही कुराहरू भएको उल्लेख गरेका छन् ।
मूलतः मधेशमा प्रभाव रहेका दलहरू हुन् जनमत र जसपा नेपाल । यी दुई दल एक अर्काका मुख्य प्रतिस्पर्धी पनि हुन् । त्यसैले यी दुई दलका नेताहरूको फरक-फरक किसिमको सक्रियतालाई अर्थपूर्ण रूपमा लिइएको छ ।