काठमाडौं । विश्वभरमा चर्चित सेलिब्रेटीले कुनै कार्यक्रम ‘होस्ट’ गर्दा होस् या कुनै विशेष समारोहमा आफ्नो प्रस्तुति दिँद होस्- महँगो शुल्क लिने गर्दछन् ।
भारत पनि त्यसमा पछि पर्ने कुरै भएन । बलिउडका चर्चित सेलिब्रेटीहरूले कार्यक्रम होस्ट गर्दा या आफ्नो प्रस्तुति दिँदा महँगो शुल्क लिने गर्दछन् ।
यसैलाई लिएर पछिल्लो समय चर्चामा छन् बीग बी भनेरसमेत चिनिने अमिताभ बच्चन । बलिउड जगतमा सलमान खानको पनि छुट्टै चर्चा हुने गरेको छ । अमिताभले कौन बनेगा करोडपति तथा सलमानले बिग बोसको होस्ट गर्दै आएका छन् ।
अमिताभले होस्ट गर्ने कौन बनेगा करोडपतिको १७औँ सिजन चाँडै आउँदै छ । उता सलमानले होस्ट गर्ने बिग बोसको १९औँ सिजन पनि प्रसारणको तयारीमा छ ।
यी दुवै सोलाई दर्शकले अत्यन्त रुचाउने गरेका छन् । जसका कारण यी सोहरूको लोकप्रियता बढ्दो छ भने होस्टहरूको शुल्क पनि आकासिँदो छ ।
भनिन्छ आफ्नो उमेरका कारण अमिताभ यो पटक होस्ट गर्ने मनसायमा थिएनन् । तर, अन्त्यमा उनी यो सो होस्ट गर्नका लागि तयार भए । त्यसका लागि उनले ठूलो रकम चार्ज गरेका छन् । उनले शुल्कको मामलामा सलमानलाई पनि पछि पारेका छन् ।
अमिताभले कौन बनेका करोडपति सन् २००० देखि होस्ट गर्दै आएका छन् । अमिताभले तेस्रो सिजनको होस्ट गरेका थिएनन् । त्यसबेला शाहरुख खानले यो शोको होस्ट गरेका थिए ।
भारतीय मिडियाहरूका अनुसार अमिताभले यो शो को एक एपिसोडका लागि ५ करोड भारु पाउने भएका छन् । यो सो हप्ताको ५ दिन आउँछ । जसले गर्दा उनले हप्ताको २५ करोड भारु पाउने भएका छन् ।
उता बिग बोस होस्ट गर्दा सलमानले एक एपिसोडका लागि १२ करोड भारु शुल्क लिन्छन् । तर, उनले हप्ताको दुई दिन मात्र यो शो सुटिङ गर्ने भएकाले सलमानले यसबाट हप्तामा २४ करोड भारु पाउने भएका छन् ।