काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू आइतबार चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका थिए ।
प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आइतबार साँझ ५ बजेको शो हेर्न काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका थिए ।
माओवादीका जनवर्गीय संगठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता–कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिए । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियानअन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।
यस्तो छ प्रचण्डको प्रतिक्रियाः
लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो।
त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।
यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु।
आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।
|
चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले चलचित्र चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताएका छन् ।
‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ,’ प्रचण्डले चलचित्रका बारेमा भनेका छन् ।
‘यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु,’ प्रचण्डले भनेका छन्, ‘आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ ।‘
चलचित्र महाभोजका निर्माता हिमाल कडरिया हुन् भने निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।