काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो ।
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । जसमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ । यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ ।
त्यस्तै निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ ।
यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गरेकामा सिड्का अध्यक्षलाई धन्यवाद दिए । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे ।
अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्त्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत् व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।
बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता
रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।
सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए ।
‘आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौँ,’ अर्थमन्त्री पौडेलले भने ।