काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर लिलाम बढाबढ प्रकृयामार्फत बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले शत प्रतिशत अर्थात् १:१ को अनुपातमा राइट शेयर निष्कासन गरेको थियो । कम्पनीले जेठ २३ गतेदेखि असास २७ गतेसम्म ३८ लाख ९ हजार ७७५ कित्ता शेयर निष्कासन गरेको थियो ।
त्यसमा बिक्री नभएको २ लाख ९८ हजार ८३२ कित्ता शेयर कम्पनीले लिलाम बिक्रीका लागि लागि ल्याएको हो । सो शेयर खरिदका लागि साउन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आर्दशनगर–वीरगंज, हेटौँडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही–दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
