काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको रौनक सुरु भइसकेको छ । एनपीएलका आठवटै फ्रेन्चाइजीहरूले रिटेन गर्ने खेलाडीहरूको लिस्ट सार्वजनिक गरिसकेका छन् भने रिलिज भएका खेलाडीहरू पनि तय भइसकेको छ ।
एनपीएलको रौनक भित्रिँदै गर्दा पहिलो सिजन र दोस्रो सिजनमा केही समानता रहनेछन् भने केही यो पहिलेको भन्दा अलि भिन्न हुनेछ । त्यसबारेमा आज चर्चा गर्दैछौँ ।
अघिल्लो सिजन एनपीएलको पहिलो सिजन भएकाले त्यसअघि टिमहरूसँग खेलाडीहरू थिएनन् । नेपाल क्रिकेट संघ क्यानले आठ जना खेलाडीलाई मार्की खेलाडी घोषित गर्यो । उनीहरूलाई गोलाप्रथाद्वारा टिमहरूले चयन गरे ।
जसअनुसार विराटनगर किङ्समा सन्दीप लामिछाने, जनकपुर बोल्ट्समा आशिफ शेख, चितवन राइनोजमा कुशल मल्ल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, लुम्बिनी लायन्समा रोहित पौडेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दिपेन्द्रसिंह ऐरी मार्की प्लेयरका रूपमा जोडिए ।
त्यसपछि भएको अक्सनको टेबुलमा बस्दा प्रत्येक टिमसँग १/१ जना मार्की खेलाडीहरू मात्र थिए । उनीहरूले विभिन्न कोटाबाट थप ११ जना खेलाडी छनोट गरी १२ जना खेलाडी चयन गर्नुपर्ने थियो ।
जसअनुसार ग्रेड ए बाट मा ३, ग्रेड बीबाट चार जना, ग्रेड सीबाट तीन जना खेलाडी छनोट भएका थिए । त्यस्तै एक जना ट्यालेन्ट हन्टबाट छनोट हुँदा टिममा नेपाली खेलाडीको संख्या १२ पुगेको थियो । उता चार जना विदेशी खेलाडी ल्याउन पाउने थियो ।

तर, यस वर्ष भने अक्सनको टेबुलमा बस्दा टिमहरूसँग रिटेन गरेका खेलाडीहरू हुनेछन् । उनीहरूले थप खेलाडीहरू मात्र अक्सनबाट लिनेछन् । अहिले फ्रेन्चाइजीहरूले न्युनतम ६ देखि अधिकतम ७ खेलाडीहरू रिटेन गरेका छन् ।
जनकपुर, पोखरा र कर्णालीले ७/७ खेलाडी रिटेन गर्दा विराटनगर, चितवन, काठमाडौं, लुम्बिनी र सुदूरपश्चिमले ६/६ खेलाडी मात्र रिटेन गरेका छन् । जसअनुसार टिमहरूसँग खेलाडीलाई टिममा भित्र्याउने संख्याको सीमितता हुन्छ । त्यसो हुँदा अक्सनमा पुगेका अब्बल खेलाडीमाथि टिमहरूको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
टिमहरूको रणनीतिः
खासमा खेलाडी रिटेन गर्दा वा रिलिज गर्दा टिमले आगामी सिजनका लागि उ कसरी अघि बढ्न चाहन्छ भन्ने सन्देश दिएको हुन्छ । उदाहरणका लागि बढी खेलाडी रिटेन गर्ने टिमले आफूसँग भएकै खेलाडीहरूलाई विश्वास गरेको र आगामी सिजनमा पनि सोही स्पिरिटमा मैदानमा उत्रने संकेत गरेको रूपमा बुझिन्छ ।
उता कम मात्र खेलाडी रिटेन गर्ने टिमले भने आगामी सिजनमा नयाँ योजना र रणनीतिका साथ अघि बढ्न चाहेको संकेतका रूपमा लिइन्छ । जसका कारण उनीहरूले अक्सनमा खेलाडी छनोटको विकल्प बढी राखेको अर्थमा बुझिन्छ ।
एनपीएलका फ्रेन्चाइजीहरूले कम्तिमा ६ र बढीमा ७ खेलाडी रिटेन गरेकाले टिमहरूको रणनीतिमा ठूलो अन्तर देखिँदैन । तर, यसको प्रभाव नदेखिने भने होइन ।
८ टिमले ५१ जना खेलाडी रिटेन गरिसकेकाले बाँकी खेलाडीहरू टिममा समावेश हुनका लागि अक्सनमा पुगेका छन् । यससँगै पहिलो सिजन एउटा टिमबाट खेलेका खेलाडीहरू दोस्रो सिजनमा अर्को टिममा देखिन सक्ने सम्भावना पन रहन सक्छ ।

विराटनगर किङ्सः
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले उनीसहित ६ जना खेलाडीलाई दोस्रो सिजनका लागिसमेत रिटेन गरेको छ । लामिछानेका अलावा विराटनगर किङ्सबाट नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतीश जिसी र सुवास भण्डारी रिटेन भएका छन् ।
६ जना खेलाडी रिटेन हुँदा विराटनगर किङ्सका ६ जना खेलाडी भने रिलिज भएका छन् । राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, मृनाल गुरुङ र सुजन थपलिया विराटनगर किङ्सबाट रिलिज भएका छन् ।
जनकपुर बोल्ट्स
एनपीएल पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि ७ जना खेलडी रिटेन गरेको छ । यसको अर्थ पहिलो सिजनका खेलाडीहरूमाथि टिमले भरोसा देखाएको बुझिन्छ ।
बोल्ट्सले कप्तान अनिल साह तथा मार्की खेलाडी आशिफ शेखसहित ७ जना खेलाडीलाई रिटेन गरेको हो । त्यस्तै ललितनारायण राजवंशी, शुभ कंशाकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंह पनि रिटेन भएका छन् ।
त्यस्तै जनकपुरले हेमन्त धामी, मयन यादव, विशाल सुस्लिङ, आकाश त्रिपाठी, अरनिको यादव र शेर मल्ललाई रिलिज गरेको छ ।
चितवन राइनोज
चितवन राइनोजले पनि मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित ६ जनालाई रिटेन गरेको छ । एनपीएलको पहिलो सिजनमा चितवनले राम्रो प्रदर्शन गरे पनि उपाधि चुम्न भने सकेको थिएन । एनपीएल सिजन १ मा चितवन प्लेअफसम्म पुगेको थियो ।
एनपीएलको दोस्रो सिजनका लागि चितवनले मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौतेला र गौतम केसीलाई रिटेन गरेको छ ।
चितवनबाट नारायण जोशी, दिलीप नाथ, सुनाम गौतम, अमृत गुरुङ, सुदिप आर्याल रिलिज भएका छन् ।
काठमाडौं गुर्खाज
एनपीएलको पहिलो सिजनमा यो टोलीले लिग चरणमा ७ मध्ये ४ खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दा प्लेअफसम्म पुग्नबाट चुकेको थियो । एनपीएलको पहिलो सिजनमा कर्णाली याक्ससँग रनरेटमा पछि पर्दा काठमाडौंले प्लेअफ खेल्न पाएको थिएन ।
करण केसी मार्की खेलाडी र कप्तान रहेको काठमाडौंले पनि दोस्रो सिजनका लागि केसीसहित ६ जनालाई रिटेन गरेको छ । रिटेन हुने अन्य खेलाडीहरूमा शाहब आलम, प्रतीक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की रहेका छन् ।
त्यस्तै शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, राजु रिजाल र कृष कार्की रिलिज भएका छन् ।

पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्ले गत वर्ष अपेक्षाकृत प्रदर्शन गर्न सकेन । जसका कारण यो टोलीले प्लेअफमा स्थान बनाउन सकेको थिएन । यद्यपि यो टिमले यस वर्ष सात जना खेलाडीलाई रिटेन गरेको छ ।
यस वर्ष पोखराले मार्की तथा कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, विपिन खत्री र तृतराज दासलाई रिटेन गरेको छ ।
पोखराबाट नारायण जोशी, दिलीप नाथ, सुनाम गौतम, अमृत गुरुङ र सुदिप आर्याल रिलिज भएका छन् ।
लुम्बिनी लायन्स
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी तथा कप्तान रहेको लुम्बिनी लायन्सले एनपीएलको पहिलो सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।
लुम्बिनीले दोस्रो सिजनका लागि मार्की खेलाडी तथा कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ । पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमले दोस्रो सिजन पनि लुम्बिनीबाटै खेल्ने भएका छन् ।
त्यस्तै सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकाश अग्री र आरिफ खान लुम्बिनीबाट रिलिज भएका छन् ।
कर्णाली याक्स
कर्णाली याक्स एनपीएलको पहिलो सिजनको लिग चरणमा चौथो हुँदै प्लेअफमा पुगेको थियो । प्लेअफको इलिमनेटरमा चितवन राइनोजलाई पराजित गरेको यो टोली जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो ।
यसपटक कर्णालीले मार्की खेलाडी तथा कप्तान सोमपाल कामीसहित सात जना खेलाडी रिटेन गरेको छ । सोमपालसहित गुलशन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत, नन्दन यादव र युनिस विक्रम सिंहले एनपीएलको दोस्रो सिजन पनि कर्णालीबाटै खेल्ने भएका छन् ।
त्यस्तै देव खनाल, मौषम ढकाल, दिपक डुम्रे, रित गौतम र भुवन कार्कीलाई भने कर्णाली याक्सले रिलिज गरेको छ ।
सुदूरपश्चिम रोयल्सः
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स निकै बलियो टोली रहेको थियो । एनपीएल अवधिभर यो टोलीको दबदबा रह्यो । तर, फाइनलमा जनकपुर बोल्ट्सँग पराजित भएसँगै यो टोली उपविजेतामा सीमित बन्यो ।
सुदूरपश्चिमले कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ । ऐरिसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदले दोस्रो सिजन पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन् ।
त्यस्तै अर्जुन कुमाल, नरेश बुढाऐर, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री भने सुदूरपश्चिमबाट रिलिज भएका छन् ।