काठमाडौं । सरकारले नयाँ मापदण्ड बनाएसँगै नेपाली सडकमा तीन थरी ट्याक्सी गुड्ने भएका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारीसम्बन्धी राष्ट्रिय मापण्ड, २०८१’ जारी गर्दै ट्याक्सीलाई तीन भागमा वर्गीकरण गरेको हो ।
यो मापदण्ड २०८१ चैत १४ गते स्वीकृत भएको थियो । यो मापदण्डको २०८२ वैशाख ३० गते पहिलो संशोधन भएको थियो ।
किन बन्यो मापदण्ड ?
सुरक्षा र सुविधाका आधारमा ट्याक्सीहरूको वर्गीकरण गरी त्यसमा लाग्ने सुल्कसमेतको वर्गीकरण गर्ने उद्देश्यले सरकारले यो मापदण्ड ल्याएको हो । सरकारले न्युनतम मूल्यमा पनि आधारभूत र न्युनतम सेवा तथा बढी मूल्यमा थप सुविधालाई श्रेणीबद्ध गर्न यो मापदण्ड ल्याएको हो ।
यसको प्रस्तावनमा यसबारे लेखिएको छ- आकार, यान्त्रिक क्षमता, सुरक्षा विशेषता तथा उपलब्ध सुविधाको स्तरलगायतका आधारमा ट्याक्सी (यात्रुवाहक साना सवारी) को व्यवस्थापन गर्न वाञ्छनीय भएकोले, सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा २३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मापदण्ड बनाएको छ ।‘
यो मापदण्ड मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुने उल्लेख छ । २०८१ चैत १४ मा यो स्वीकृत भएकाले लागू भइसकेको छ ।
यो मापदण्डमा भएको व्यवस्था नयाँ ट्याक्सीको रूपमा दर्ता हुने वा पुराना ट्याक्सीको सट्टामा दर्ता हुने सवारी र यो मापदण्ड लागू हुनुभन्दा अघि नै ट्याक्सिको रूपमा सञ्चालनमा रहेका सवारीमा यसै मापदण्ड बमोजिमका व्यवस्था लागू हुने व्यवस्था गरिएको छ ।
मापदण्डले ट्याक्सीको नम्बरप्लेट र छतमा लगाइनुपर्ने रङको बारेमा पनि उल्लेख गरेको छ । ट्याक्सीको नम्बरप्लेट इम्बोस्ड नम्बरप्लेट जडान गरिएको हुनुपर्ने र ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
ट्याक्सीको वर्गीकरणः
मापदण्डले ट्याक्सीको वर्गीकरण तीन भागमा गरेको छ । यद्यपि सबै प्रकारका ट्याक्सीमा न्युनतम सुरक्षा विशेषता भने हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
ट्याक्सीमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) विथ एलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी), ड्राइभर एन्ड कोड्राइभर एयर ब्याग्स (कम्तिमा दुई), हाई स्पिड अलर्ट सिस्टम, सबै सिटहरूमा सिट बेल्ट, ड्राइभर र कोड्राइभरलाई सिट बेल्ट रिमाइन्डर तथा रियर पार्किङ सेन्सर एवं रियल भ्यू क्यामेरा पनि अनिवार्य गरिएको छ ।
यसका अलावा मापदण्डले आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तरलगायतका आधारमा ट्याक्सीहरूलाई साधारण, विशेष र विशिष्ट गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ ।
साधारण (अर्डिनरी) ट्याक्सीः
माथि उल्लेख गरिएको न्युनतम सुरक्षा र विशेषताका अलावा साधारण ट्याक्सीमा १००० सीसी वा सोभन्दा माथिको इन्जिन डिस्प्लेसमेन्ट भोल्युम (१.५ प्रतिशत कमसमेत समावेश हुने) हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै ब्याट्रीमा सञ्चित हुने ऊर्जा र सवारीको कुल भारबीचको न्यूनतम अनुपात ०.०१५ हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति (१.५ प्रतिशतसम्म कमसमेत समावेश हुने) ४० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने छ । त्यस्तै अधिकतम इन्जिन वा मोटर टर्क ६५ न्यूटन मिटर वा सोभन्दा माथि हुनुपर्नेछ ।
त्यस्तै ह्वील स्पेस २३०० मिमि वा सोभन्दा माथि हुनुपर्ने तथा बुट स्पेस १६० लिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ ।
विशेष अर्थात डिलक्स ट्याक्सीः
त्यसै गरी दोस्रो श्रेणीमा विशेष अर्थात डिलक्स ट्याक्सी रहेको छ । जसको इन्जिन डिस्प्लेसमेन्ट भोल्युम (१.५ प्रतिशतसम्म कमसमेत समावेश हुने) १२०० सीसी वा सो भन्दा बढीको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै विद्युतीय सवारी (हाइड्रोजन फ्युल सेल आधारित समवारीसमेत) ब्याट्रीमा सञ्चित हुने ऊर्जा र सवारीको कुल भार बीचको न्युनतम अनुपात ०.०१९ हुनुपर्ने उल्लेख छ ।
त्यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति (१.५ प्रतिशतसम्म कमसमेत समावेश हुने) ५० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने तथा अधिकतम इन्जिन वा मोटर टर्क ८० न्युटन मिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ ।
त्यस्तै ह्विलबेस २५०० मिमि वा सोभन्दा माथि हुनुपर्ने, बुट स्पेस २०० लिटर वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।
डिलक्स ट्याक्सीमा टच स्क्रिन सहितको डिस्प्ले स्क्रिन कम्तिमा एक हुनुपर्ने, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि) हुनुपर्ने तथा जाडो गर्मी सबै मौसमका लागि उपयुक्त हुने वातानुकुलन प्रणाली हुनुपर्ने व्यवस्था गरिएको छ ।
विशिष्ट अर्थात लक्जरी ट्याक्सी
सरकारले थप सुविधासमेत समावेश गरेर तेस्रो श्रेणीको ट्याक्सी हुने मापदण्ड पनि बनाएको छ । जसलाई विशिष्ट अर्थात् लक्जरी ट्याक्सी भनिएको छ ।
लक्जरी ट्याक्सीको इन्जिन डिस्प्लेसमेन्ट भोल्युम (१.५ प्रतिशतसम्म कमसमेत समावेश हुने) २००० सीसी वा सोभन्दा बढी हुनुपर्ने मापदण्ड बनाइएको छ ।
त्यस्तै विद्युतीय सवारी (हाइड्रोजन फ्युल सेल आधारित सवारी समेत) को ब्याट्रीमा सञ्चित हुने ऊर्जा र सवारीको कुल भारबीचको न्युनतम अनुपाद ०.०२५ हुनुपर्ने व्यवस्था गरिएको छ ।
लक्जरी ट्याक्सीको अधिकतम इन्जिन वा मोटर शक्ति (१.५ प्रतिशतसम्म कमसमेत समावेश हुने) १०० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै अधिकतम इन्जिन वा मोटर टर्क १७० न्युटन मिटर वा सोभन्दा माथि हुनुपर्ने तथा ह्विल बेस २७०० मिमि वा सोभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै बुट स्पेश भने ४०० लिटर वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसका साथै लक्जरी ट्याक्सीमा विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि) हुनुपर्ने, जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकुलन प्रणाली हुनुर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै पछाडिको सिटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावा पथ हुनुपर्ने, पछाडिको सिटमा शिर अड्याउने हेडरेस्ट हुनुपर्ने तथा पछाडिको यात्रुको लागि हात अड्याउने आर्म रेस्ट हुनुपर्ने व्यवस्था पनि मापदण्डले गरेको छ ।
यसका साथै लक्जरी ट्याक्सीमा अगाडि र पछाडि कप होल्डर हुनुपर्ने, पछाडिको सिटका यात्रुका लागिसमेत मोबाइल तथा अन्य विद्युतीय उपकरणहरू चार्ज गर्न डीसी वा एसी पावर आउटलेट हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यस्तो ट्याक्सीमा वाईफाईको पनि व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
त्यस्तै अगाडिको शिर कक्ष र पछाडिको शिर कक्ष कम्तिमा क्रमशः १००० मिमि र ९५० मिमि हुनुपर्ने (१ प्रतिशतसम्म कमसमेत समावेश हुने गरी) व्यवस्था गरिएको छ ।
त्यस्तै अगाडिको पाउकक्ष र पछाडिको पाउकक्ष कम्तिमा क्रमशः १००० मिमि र ९०० मिमि हुनुपर्ने (१ प्रतिशतसम्म कमसमेत समावेश हुनेगरी) व्यवस्था गरेको छ ।
०००
यो मापदण्डले ट्याक्सीको वर्गीकरण मात्र गरेको छैन त्यस्तो वर्ग खुल्ने संकेत समेत राख्नुपर्ने व्यवस्था गरेको छ ।
मापदण्डअनुसार साधारण अर्थात् अर्डिनरी, विशेष अथवा डिलक्स तथा विशिष्ट अथवा लक्जरी वर्गका ट्याक्सीहरूले ८०*८० मिमिको वर्गाकार पारदर्शी प्लास्टिकभित्र रातो रङ्गमा कम्तीमा ६० मिमि उचाई र ८ मिमि मोटाइका अंग्रेजी अक्षरहरू लेखिएको स्टिकर टास्नुपर्ने व्यवस्था गरेको छ ।
जसअनुसार साधारणले अग्रेजीको ओ (O), विशेषले अंग्रेजीको डी (D) र लक्जरीले अंग्रेजीको वाई (Y) लेखिएको स्टिकर टास्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तो स्टिकर प्रत्येक ट्यक्सीको अगाडिको सिसाको चालक तर्फको माथिल्लो तर्फको माथिल्लो कुनामा, पछाडिपट्टीको दायाँ र बायाँ ढोकामा तथा पछाडिको सिसाको बायाँ तर्फको तल्लो कुनामा गरी चार ठाउँमा टाँसेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसका साथै ट्याक्सीको छतमा पनि संकेत चिह्न राखिएको हुनुपर्नेछ । जसमा सवारी खाली हुँदा, सवारी खाली नहुँदा र सवारी सेवामा नहुँदा बल्ने संकेत बत्ति छुट्टाछुट्टै र निश्चित रङ्गको हुनुपर्ने व्यवस्था गरिएको छ ।
बत्तीमा बालिने तीन थरी रङ्गको नियन्त्रण स्विच चालक सिटको अगाडि जडान गर्नुपर्ने व्यवस्था पनि मापदण्डले गरेको छ ।
त्यस्तै प्रिन्टरसहितको डिजिटर भाडा मिटर र डिस्प्लेसहितको जीपीएस न्याभिगेसन प्रणाली ट्याक्सीमा अनिवार्य हुनुपर्ने सहायक उपकरणहरू रहेको मापदण्डमा व्यवस्था गरिएको छ ।
ट्याक्सी चालकः
मापदण्डले प्रत्येक ट्याक्सीभित्र यात्रुले देख्ने गरी चालक तथा सवारीको विवरण टाँस वा डिस्प्ले गरी राख्नुपर्ने व्यवस्था गरेको छ ।
त्यसरी डिस्प्ले वा टाँस गर्दा सवारी नम्बर, चालकको नाम, सम्पर्क नम्बर, सवारीको भाडादर तथा ड्राइभरको लाइसेन्स नम्बरसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्डले ट्याक्सी चालकले ट्याक्सी चलाउँदा रेफ्लेक्टिभ ज्याकेट लगाएको हुनुपर्ने व्यवस्था गरेको छ ।
वर्गअनुसारको भाडाः
मापदण्डले ट्याक्सीको वर्गीकरण गरेको मात्र छैन त्यसअनुसारको भाडा पनि तय गरिदिएको छ । मापदण्डले निर्धारण गरेको भाडा अनुसार वर्ग बढ्दै जाँदा भाडा पनि बढ्दै जानेछ । अर्थात समान दूरी यात्रा गर्नुछ भने पनि ट्याक्सीको वर्गले भाडामा फरक ल्याउनेछ ।
उदाहरणका लागि कोटेश्वरबाट बानेश्वरसम्म यात्रा गर्नुछ भने साधारण वर्गको ट्याक्सीमा लाग्ने भाडाभन्दा विशेष वर्गको ट्याक्सीमा लाग्ने भाडा बढी हुन्छ । विशिष्ट वर्गको ट्याक्सीमा यात्रा गर्दा भाडा अझ महँगो हुनेछ ।
अर्थात् समान दूरीको यात्रामा पनि कुन सुविधायुक्त ट्याक्सीको उपयोग गर्नुहुन्छ भन्नेले भाडादरमा फरकपन ल्याउने हुन्छ । ट्याक्सीको वर्ग र त्यसका सेवासुविधाको विषयमा माथि चर्चा गरिसेकका छौँ । त्यसका लागि माथि नै हेर्नुहोला ।
अब लागौँ भाडादर तर्फ । साधारण वर्गको ट्याक्सीको अधिकतम भाडादर अधिकारप्राप्त निकायले तोकेबमोजिम हुने व्यवस्था मापदण्डले तोकेको छ ।
त्यस्तै विशेष वर्गको ट्याक्सीको अधिकतम भाडादर भने साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशतसम्म बढी हुन सक्ने व्यवस्था गरिएको छ ।
अनि विशिष्ट वर्गको ट्याक्सीको अधिकतम भाडादर भने साधारण वर्गको ट्याक्सिको भन्दा १०० प्रतिशतसम्म बढी हुन सक्ने व्यवस्था गरिएको छ ।