काठमाडौं । शुक्रबार दिउँसो बबरमहलस्थित कार्की ब्याङ्क्वेटको पत्रकार सम्मेलन आयोजक या वक्ता जे भने पनि थियो त ‘पूर्वराष्ट्रपति’ विद्यादेवी भण्डारीको ।
तर, पत्रकार सम्मेलनमा पत्रकारसँगको प्रश्नोत्तरअघि भण्डारीले वाचन गरेको र पछि प्रेस विज्ञप्तिका रूपमा पत्रकारहरूलाई उपलब्ध गराइएको सम्बोधनको प्रतीमा उनको पद ‘पूर्व उपाध्यक्ष, नेकपा (एमाले)’ राखिएको थियो ।
एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा प्राप्त सेवा सुविधा नलिने र लिएको पनि फिर्ता गर्ने निर्णय लिएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ ।
तर, भण्डारीले आफ्नो राजनीतिक जीवनको सम्भवतः सर्वाधिक महत्त्वको पत्रकार सम्मेलनमा राष्ट्राध्याक्षको पदमा पुगेको गौरव झल्काउने ‘पूर्वराष्ट्रपति’ नराख्नु पनि आफैँमा ठूलो अर्थ राख्ने विषय हो ।
अनि उक्त विज्ञप्तिमा लेखिएको ‘पूर्व उपाध्यक्ष’ले दिएको सन्देश थियो- नबिर्स म एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुँ । अनि उनले आफ्नो वक्तव्यका क्रममा पनि त्यसलाई बुझिने गरी नै संकेत गरेकी छन् ।

यो सबैलाई जानकारी भएकै विषय हो पूर्वराष्ट्रपति भण्डारी एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मदन भण्डारीकी जीवनसँगीनी हुन् । यो यहाँ किन जोड्न खोजिएको हो भने आजको कार्यक्रमको व्यानरमा पनि मदन भण्डारीको तस्वीर राखिएको थियो । यसको अर्थ उनले मदनको लिगेसी बोकेकी छु भन्ने सन्देश दिन पनि खोजेको पो हो कि !
भण्डारीको पत्रकार सम्मेलनका क्रममा बीचबीचमा केही प्राविधिक कमजोरीहरू देखिए । जस्तो- उनले बोल्न सुरु गर्नु ठीक अघि झ्याप्प लाइन गयो । त्यस्तै बीचबीचमा ‘साउन्ड’ का समस्याहरू आए ।
पत्रकार सम्मेलन गरेरै एमालेको निर्णय र पार्टी नेतृत्वलाई खुला च्यालेन्ज गर्नु सम्भवतः भण्डारीको जीवनमा यो पहिलो घटना होला । परिस्थितिबस आज उनी सोही स्थानमा पुगिन् । त्यसैले पनि माथि- आज भण्डारीले आफ्नो जीवनमा आयोजना गरेको सर्वाधिक महत्त्वको पत्रकार सम्मेलन भनिएको हो ।
एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीमा आउनबाट रोक लगाउने निर्णय लिएपछि गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको उक्त निर्णयलाई अपरिपक्व भनिन् । अनि त्यस्तो निर्णयले पार्टीको साख र प्रतिष्ठा गिराउँछ भनेर कठोर टिप्पणी पनि गरिन् ।
एमालेको केन्द्रीय समितिले गरेको सो निर्णय आवेग र उत्तेजनाको भरमा गरिएको र त्यसले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सके पनि वास्तविकतालाई सधैँ छोप्न नसकिने सन्देश भण्डारीले दिइन् । अनि उनले पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको निर्णयलाई लक्षित गर्दै पार्टी नेतृत्वलाई सन्देश दिइन्- ‘पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।‘
भण्डारीले बबरमहलबाट सन्देश दिइन्- म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । राष्ट्रपति हुँदा नै ३५ वर्ष भइसकेको थियो । यसपछि उनले आफूलाई पार्टी सदस्य हुनबाट कदापि वञ्चित गर्न नसकिने अडान दोहोर्याइन् ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन,’ उनको भनाइ थियो । उनले थप सन्देश पनि दिइन्- यो पार्टी बनाउन म जस्ता हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना र मिहिनेत लागेको छ ।
उनले कार्यकर्ताहरूलाई जबजको मूल्य-मान्यता रक्षा गर्न पनि आह्वान गरिन् । ‘जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु,’ उनले भनिन् ।

यसपछि भण्डारीलाई पत्रकारहरूले केही प्रश्नहरू पनि गरे । जवाफको क्रममा उनले आफूले राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि विधिपूर्वक सदस्यता नवीकरण गरेको बताइन् । अनि भनिन्- ‘... मैले नवीकरण विधिपूर्वक गरेकी छु । यसलाई चाहिँ मुठ्ठीभर व्यक्तिहरूले यत्तिकै हुलहुज्जतको भरमा अथवा उत्तेजनामा आएर गर्न मिल्दैन । पार्टीको पनि आफ्नो प्रक्रियाहरू हुन्छन् ।’
आफू राष्ट्रपति हुँदा पनि पार्टीको निर्णयअनुसार नै गएको उनको भनाइ छ । आफू पार्टी छाडेर अन्यत्र गएको अर्थमा त्यसलाई बुझ्न नहुने उनको सन्देश थियो । ‘… मैले कुनै छोडेर पार्टी परित्याग गरेर अर्को हिसाबले म गएको होइन । पार्टीको जिम्मेवारी भएरै गएको हो । र, आइसकेपछि पनि मैले आफ्नो विधिअनुसार नै नवीकरण गरेको हो ।’
भण्डारीले आफू एमालेमा आबद्ध भइसकेको बताइन् । ‘म नेकपा (एमाले) को परिवारमा अहिले पनि आबद्ध छु ।’
भण्डारीले पत्रकार सम्मेलनको अन्त्यतिर भनिन्, ‘म अहिले पार्टी सदस्य भएको ४५ वर्ष भयो । मैले विराटनगरमा पार्टी सदस्यता लिएको हो र जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो उहाँले शपथ खुवाएको हो मलाई ।‘
भण्डारीले अन्तिममा एमालेको निर्णयलाईलाई चुनौती दिइन् । कसैलाई लाग्यो भन्दैमा आफ्नो सदस्यता नखोसिने उनको भनाइ थियो । ‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो मलाई लाग्दैन,’ भण्डारीले भनिन् ।
यस्तो छ भण्डारीको भनाइ
नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।
देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ ।
मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो । सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो । यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ ।
हालैका दिनमा नेकपा (एमाले)को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।
म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन। किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन। यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन।
यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन्। त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रतिको नेकपा (एमाले)का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।
विद्यादेवी भण्डारी
पूर्व उपाध्यक्ष, नेकपा (एमाले)
|