काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को विवाद अब सतहमै आइपुगेको छ । पार्टीका विवादहरू आन्तरिक कमिटीमा राख्ने, त्यहीँ समाधान खोज्ने तर बाहिर त्यसलाई प्रकट नगर्ने माओवादीको ‘फलामे अनुशासन’बाट यसअघिका केही विवाद जस्तै यो विवाद पनि फुत्केर सामाजिक सञ्जालसम्म पुगिसकेको छ ।
सामान्यतया माओवादीभित्रको विवाद यसरी प्रकट रूपमा कमै मात्र सतहमा आउँछन् । अनि यसरी सतहमै आइसकेको विवादचाहिँ पुनः पार्टी कमिटीमा फर्किएर समाधान हुने सम्भावना कमै रहन्छ । भए पनि त्यसको तुष रहीरहने गरेको छ ।
पछिल्लो समय माओवादी केन्द्रभित्रको विवाद चरममा पुगेको छ । यो अब पार्टी कमिटीको दायरामा मात्र सीमित छैन । त्यो सामाजिक सञ्जालसम्मै पुगिसकेको छ । खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपमहासचिव जनार्दन शर्माले चुनौती दिइरहेका छन् ।
विवाद बढ्दै जाँदा शर्मालाई पार्टी छाडेर गए पनि हुन्छ भन्नेसम्मको घोचपेच भएको कुरा सार्वजनिक भएका छन् । तर, प्रचण्डले भने त्यसलाई स्वीकारेका छैनन् । यस्तो परिस्थितिमा शर्माले आफ्नो मत सामाजिक सञ्जालमै लेखेर पार्टीको विवादलाई पार्टी कमिटीको सीमारेखाभन्दा बाहिर सामाजिक सञ्जालमा पुर्याएका छन् ।
शर्माको आरोपः
उनले पार्टीबारे उठेका भ्रम र तथ्यलाई ‘गहिरो गरी बुझ्न’ आग्रह गरेका छन् । साथै उनले पार्टी नेतृत्वलाई स्पष्ट रूपमा लक्षित गर्दै पार्टी फुट्छ भनेर गलत प्रचार गरेको र अहिले त्यसमा थप मलजल गरिएको दाबी गरेका छन् ।
शर्माले भनेका छन्- ‘बिगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु ।’
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जेको ऊर्जालाई दुई बुँदे सहमति गरेर (नेतृत्वले) पार्टीको साख गिराएको आरोप लगाएका छन् । अनि त्यसलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौँ ।
उनले पार्टीमा विशेष महाधिवेशनको माग गरेका छन् । यसले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ ।
महासचिवको लडाईं:
माओवादी नेताहरूको भनाइमा शर्मा गत महाधिवेशनमा महासचिवको आकांक्षी थिए । अनि उनलाई महासचिवमा अर्का नेता वर्षमान पुनले कडा टक्कर दिएका थिए । शर्मा र पुन दुवै महासचिवको आकांक्षी भएपछि प्रचण्डले यी दुवै नेतालाई उपमहासचिव बनाएर देव गुरुङलाई महासचिव बनाउँदै मध्यमार्गी समाधान निकालेका थिए ।
तर, असन्तुष्ट पक्ष भने प्रचण्डले पुन र शर्मालाई लडाएर गुरुङलाई महासचिव बनाएको टिप्पणी गर्छ । शर्माले सार्वजनिक मञ्चमै यसप्रति असन्तुष्टि पोख्दै आएका छन् ।
माओवादीमा पुन र शर्मा शसक्त गुट भएका नेताहरू हुन् । प्रचण्डपछि यी दुई नेताकै गुट माओवादीमा बलियो छ । पछिल्लो अवधिमा शर्माको गुट अझ बलियो भएको माओवादीकै नेताहरू बताउँछन् । त्यसैको परिणामस्वरुप जनवर्गीय संगठनहरूमा शर्माले पार्टी हेर्डक्वाटरलाई चुनौती दिने गरेको उनीहरूको भनाइ छ ।
‘पार्टीमा अनन्त (पुन) कमरेड र प्रभाकर (शर्मा) को समूह हाराहारीको स्थितिमा देखिन्थ्यो । तर, १/२ वर्षयता अनन्त कमरेडको समूह भन्दा प्रभाकर कमरेडको समूह केही बलियो देखिएको छ,’ ती नेता भन्छन्, ‘पार्टी निकट पत्रकार संगठनदेखि विद्यार्थी संगठनसम्म उहाँले नेतृत्वलाई चुनौती दिनुभएको छ ।’
माओवादीका अर्का केन्द्रीय सदस्यको बुझाइमा पनि अहिले संस्थापन पक्षपछि शर्माको समूह बलियो छ । पुनको समूह कमजोर त देखिएको छ तर, त्यो समूहका नेता कार्यकर्ता शर्माको समूहमा गएका भने छैनन् । अर्का उपमहासचिव शक्ति बस्नेतको समूह विस्तारै बढ्दै गएको छ । यो समूहले केही नेता-कार्यकर्ता तानेको छ ।
शर्माको समूह माओवादीभित्र बलियो बन्दै गए पनि त्यसमा सीमितता रहेको अर्का नेता बताउँछन् । ‘मलाई लाग्छ उहाँ (शर्मा) को समूहमा रहनुभएका मित्रहरूले पार्टीका अन्य नेताहरूसँगको संघर्ष र विवादमा उहाँलाई साथ दिने हो,’ उनी भन्छन्, ‘तर, मूल नेतृत्वसँग कडा संघर्ष हुँदा उहाँको समूहमा रहेका सबै साथीहरूले उहाँलाई नै साथ दिन्छन् भन्न सकिने अवस्था छैन ।’
विपक्षमा माहौलः
माओवादी भित्रको पछिल्लो विवादबारे कार्यकर्ता पङ्क्तिले पनि सामाजिक सञ्जालमा आफ्नो मत दिन थालेको छ । यो पङ्क्तिमध्ये अधिकांशले शर्माको आलोचना गर्ने गरेको छ । खासगरी उनले खुला रूपमा पार्टीमाथि लगाएको आरोपको प्रतिवादमा माओवादी कार्यकर्ताको ठूलो पङ्क्ति उभिएको छ ।
शर्माको पक्षमा रहेकाहरूले भने उनको बचाउ गरिरहेको देखिन्छ । यद्यपि, उनीहरू भने केही नरम रूपमा प्रस्तुत भएका देखिन्छन् । यसले पनि शर्माप्रति कार्यकर्ताहरूको सहानुभूति रहेको त देखाउँछ तर, त्यो पङ्क्ति मुखर रूपमा प्रचण्डको आलोचना उत्रन भने चाहेको देखिँदैन ।