काठमाडौं । शुक्रबारदेखि जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा गरमागरम बहस भएको छ । खासगरी उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय उठाएकोमा नेताहरूले गरमागरम बहस गरेका छन् ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले शर्माको आलोचना गरेका छन् । उनीहरूले शर्माले गतल गरेको भन्दै आत्मालोचना गर्न पनि सुझाव दिएका छन् । उता शर्मा भने एक्लो जस्तै देखिएका छन् ।
आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि र पद्दति नमान्ने नेताहरूले आत्मालोचना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीहरूले पार्टीमा देखिएको समस्याको जिम्मेवारी अध्यक्षले लिनुपर्छ भनिरहेको विषयमा उनलाई प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘छलफल अझै चलिरहेको छ । जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्नुपर्छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।'
उता स्थायी कमिटीको बैठकमा पूर्वराष्ट्रपतिसमेत रहेका उपाध्यक्ष नन्दकिशोर पुनले अहिले जनयुद्धकालीन जनार्दन शर्मा प्रभाकर नभेटिएको टिप्पणी गरेका छन् ।
'जनयुद्धको बेलाको प्रभाकर खोजीरहेको छु । अहिले जनयुद्धको प्रभाकर देख्न छाडेको छु । त्यो बेला पार्टीविरुद्ध लाग्नेकाविरुद्ध जाइ लाग्नुहुन्थ्यो । अहिले फरक हुँदै जानुभएको छ,' बैठकमा पुनले भनेका थिए, ‘तपाईंले अध्यक्षसहित अरु साथीले भनेका कुरा खारेज गरेँ भन्नुभयो । म तपाईंको यो कुरा खारेज गर्छु । पार्टीभित्र अतिवादी प्रवृत्तिले समस्या पारेको छ ।'
अर्का उपाध्यक्ष कृष्णबहादुर महराले शर्माले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएर गलत गरेको टिप्पणी गरेका थिए । उक्त अभिव्यक्ति सच्याउनुपर्ने महराको भनाइ थियो ।
'नेतृत्वको ड्यामेजीकरण भनेको पार्टी र आन्दोलनको ड्यामेजिकरण हो । प्रभाकरले कुरा बाहिर लैजानु गल्ती छ । समीक्षा गरेर प्रभाकरले आफूले गरेको गल्ती सच्चाउनुपर्छ,' बैठकमा महराले भनेका थिए, 'नेतृत्वलाई बलियो बनाउँदा मात्र पार्टी बलियो हुन्छ । नेतृत्व कसैलाई इच्छा लाग्यो भनेर दिएर हुने कुरा होइन । म लिन्छु भनेर हुने कुरा पनि होइन ।'
त्यस्तै हितराज पाण्डेले उपमहासचिव शर्माका धारणाहरू पार्टीलाइनभन्दा फरक सुनिन थालेको टिप्पणी गरेका छन् । 'सदनमा व्यक्त गरेको धारणा पार्टी लाइनभन्दा भिन्न सुनिन थालेको छ । संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ । जनार्दनका धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ?' उनले प्रश्न गरेका छन् ।
प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश सदस्यले अध्यक्ष प्रचण्डको नेतृत्वप्रति सबैको बलियो साथ रहेको बताएका जानकारी दिए ।
'पार्टी अध्यक्षप्रति सबैको बलियो साथ छ । प्रभाकरजीले समेत अध्यक्षको प्रस्तावमा विरोध गर्नुभएको छैन,' सापकोटाले भने, 'हिजो र आजको बैठकमा अधिकांश सदस्यले नेतृत्वको विकल्प नरहेको प्रष्ट पारेका छन् । नेतृत्वलाई थप सुदृढ र सबल बनाउनुपर्नेमा जोड दिइएको छ ।'
शर्माले भने आफूले पार्टी विभाजन गर्न खोजेको भनेर हल्ला चलाइएको टिप्पणी गरे । ‘म पार्टी छाडेर जान्नँ, फुटको हल्ला खारेज गर्छु,’ शर्माले भनेका छन् । आफूले पार्टीलाई बलियो बनाउन खोजको शर्माको जिकिर छ ।
त्यस्तै पार्टीको जनमत घटेको कारण खोज्नुपर्नेमा जोड दिँदै शर्माले यसका लागि अध्यक्षले जिम्मा लिनुपर्ने बताए । ‘अध्यक्षले लिएपछि म पनि आत्मालोचना गर्न तयार छु,’ उनले भने ।
यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको बैठक सोमबार पनि जारी रहनेछ ।