काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीका लागि बिक्री खुला हुने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहको हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने बारे शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने सुरु मित २०८२ साउन २७ गते मंगलबारका लागि तोकिएको छ । त्यस्तै शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने अन्तिम मिति २०८२ भदौ ०३ गते मंगलबार दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।
कम्पनीले यही असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा सर्वसाधारण समूहतर्फ आवेदन नपरेको ४ लाख १८ हजार ७३८ कित्ता शेयर लिलामीमा राखिएको हो ।
कम्पनीले यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । गोप्य शिलबन्दी बोलपत्रको आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नारायणचौर नक्साल शाखामा पाइने र बुझाउने पर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै नबिल बैंक लिमिटेड विराटनगर, विर्तामोड, वीरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखामा पनि बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान तोकिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त शेयरमा बोलपत्र पेस गर्नका लागि १०० रुपैयाँमा उल्लिखित संकलन केन्द्रहरूबाट आवेदन फारम खरिद गर्न सकिनेछ । लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यस्तै कम्तिमा १०० कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ ।
