आमा,
थाहा छ
नियालिरहेछन् हजुरका नयन
एकोहोरो मेरो बाटो
तर कलमको सारथी बनेर
मैले गरेको यात्रा
जहाँ थकान हुँदैन
चौतारी देखिँदैन
अहँ ! हुँदैन आमा
यो यात्रामा विश्राम हुँदैन ।
आमा !
नवरात्र सुरु हुँदादेखि नै
तपाइँले गरेको पूजा
एक - एक गरी
म खबर बनाइरहेछु
र, बनाउनेछु
तपाइँले दाजुहरूको
भाइहरूको,
बैनीहरूको
निधारमा टीका राखेर
कानमा जमरा राखेर
शिरमा हात राखेर
आशिर्वाद दिएको खबर
आमा,
तपाइँले पनि
निधारभरि टीकाजमरा लाउनु है
म तपाइँको भरिएको निधारको
खबर सुनाएर
मन भराउँछु ।
हो आमा,
अघिल्ला वर्ष गरेका वाचा याद छ मलाई
तर देश, काल, परिस्थिति हेर्नुस् न
चाहेर पनि म हिँड्न पाउँदिन
तपाइँ सुरक्षित रहनु
तपाइँजस्तै धेरै आमाहरूलाई
सुरक्षित त रहनु भनेर
म सन्देश सुनाउँला
कतारबाट फर्केका दाइसँगै
घरमा रमाइलो होला
कोरियाबाट आउन नपाएको भाइ
अर्को साल त आउला
आमा,
दशैँ घरमा हुनेहरू नै रमाएर मनाउनु है
आमा,
म मेरो रहर मारेर पनि
अरुको रहर पूरा गर्नसक्छु
मेरो यात्रा गज्जबको छ
तपाइँले कान थापेर
रेडियोमा,
टीकाको साइत सुन्नुहोला
देवी पूजा-विधी
र, सुन्नुहोला
टीकाको मन्त्र ।
किन किन
म यसै फुरुङ्ग छु
अचम्मको मनको चाह देखेर
मलाई जे छ त्यसैमा
खुब रमाउन
सिकाउने तपाइँ हो
म रमाएकै छु
रमाइरहने छु आमा ।
म आवाजको यात्रामा छु
अक्षर र शब्दको गोरेटो
बडो गज्जबको छ
बिहानै कसैको कानमा
कसैको नजरमा
म पुगेकै हुन्छु
सायद-हरदिन
लक्ष्य भेट्ने मेरो कलमको
यात्राजस्तो अरुको छैन ।
मलाई यसैमा खुब सन्तुष्टि छ ।
हो आमा,
यो विश्रामविनाको यात्रा
मलाई दुर्गामाता
अनि तपाइँको आशिर्वाद
मिलिरहोस् सधैँ ।
[प्रेस काउन्सिल नेपालको ५१ औं वार्षिकोत्सव तथा छैटौं संविधान दिवसका अवसरमा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा प्रथम स्थान हासिल गर्न सफल कविता ।]