काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।
नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन् ।
कार्यक्रमको उद्घाटन गर्दै अर्थ सचिव दिनेश कुमार घिमिरेले सदस्य राष्ट्रहरूबीच सीमापार व्यापारलाई सहज र द्रूत बनाउन ठोस सहकार्य आवश्यक रहेको बताए । भन्सार प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले मात्र व्यापारमा हुने ढिलाइलाई घटाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने तथा यसै माध्यमबाट क्षेत्रीय आर्थिक समृद्धि हासिल गर्ने साझा लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ ।
उद्घाटन समारोहमा सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टाराईले बैठकले सदस्य राष्ट्रहरूबीच सीमापार व्यापार, भन्सार प्रक्रिया र यातायात व्यवस्थापनमा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
उनले डिजिटल प्रविधिको प्रयोगले सीमा पार व्यापारलाई छिटो, सजिलो र पारदर्शी बनाउने दिशामा सदस्य राष्ट्रहरू अग्रसर भैरहेको तथा यस्ता बैठकले त्यस्ता पहलहरूलाई थप गति प्रदान गर्ने विषयमा जोड दिए ।
बैठकले सदस्य राष्ट्रहरूबिचका प्रमुख सीमा नाकामा भन्सारसम्बन्धी कागजातहरूको आदानप्रदान, आयात–निर्यात हुने वस्तुको विवरणसहितको पूर्वसूचना आदानप्रदान प्रणालीको विकास, इलेक्ट्रोनिक कार्गाे ट्रयाकिङ सिस्टम (ECTS) को प्रयोग, सीमा व्यवस्थापन र सीमापार यातायात सहजीकरण लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बैठकका सदस्य तथा भन्सार विभागका निर्देशक नारायण प्रसाद रेग्मीले जानकारी दिए ।
सहभागी देशका प्रतिनिधिहरूले सीमामा देखिने प्रक्रियागत जटिलता र ढिलाइलाई कम गर्न आधुनिक प्रविधिको प्रयोग र अन्तरसरकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । बैठकले क्षेत्रीय व्यापारसम्बन्धी साझा नीतिहरू बनाउने, भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने, व्यापार सहज बनाउन पूर्वाधार विकास र सूचना प्रविधि प्रवर्द्ध गर्ने लगायतका उपायहरू पहिचान गर्ने अपेक्षा गरेको छ ।
तीन दिनसम्म चल्ने यो सम्मेलनले भन्सार र सीमा व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।