काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने टिप्पणी गरे ।
'मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज) को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो,' ओलीले प्रतिष्ठान स्थापनाबारे जानकारी दिँदै भने ।

अनि उनले मदन भण्डारी फाउन्डेसनबारे पनि टिप्पणी गरे । 'पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो,' ओलीले भने, 'अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ । पार्टी हितविपरीत प्रयोग हुनु हुँदैन ।’
उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे ।
गत प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।