काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् ।
कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्शमा पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरे । गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।
‘दुई ठूला पार्टीहरू सरकारमा हुनुहुन्छ । तपाईंहरूसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने ।
न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको पुनको आरोप छ । आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको उनको भनाइ छ ।
‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरुपयोग गरी कसैमाथि प्रतिशोध साँध्न मिल्दैन भनेको थिएँ,’ उनले भने, ‘सत्तापक्ष, प्रतिपक्षी वा आफैँभित्रको अर्को पक्षविरुद्ध राज्य प्रयोग गरिनुहुँदैन । यो म हिजो पनि भन्थेँ, आज पनि भन्छु ।’
पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन कांग्रेस र एमालेलाई आग्रह गरे । माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए ।
‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ । आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिच्किचाहट छैन,’ पुनले भने ।
ठूला पार्टीमाथि जनताको प्रश्न रहेको चर्चा गर्दै उनले गठन भएको ६ महिनामा रास्वपालाई संसदको चौथो शक्ति बनाएर जनताले पुराना दलप्रति प्रश्न गरेको बताए ।
लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिवादी र अन्धराष्ट्रवादीहरू विकल्प हुन नसक्ने उनको भनाइ थियो ।
‘हाम्रो पापार्टीको कोँणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन् राम्रो पार्टी सिस्टम र नेताहरूको विकल्प झन् राम्रो नेताहरू हो,’ पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन । तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरुरी छ ।’
पुराना पार्टी र नेताहरूले आफूलाई परिस्कार गरेर विचार, नीति र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे ।
‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन । मान्छेले विश्वास गर्दैन,’ पुनले भने, ‘पुराना पुस्ताका नेताहरूप्रति हाम्रो पुराका पुरा सम्मान छ । पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरुरी छ । पार्टीहरू र नेताहरू लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ । त्यो कुरामा आत्मालोचना गर्नैपर्छ ।’