काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले आवेदन दिएका छन् । सरकारले प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान गरेकामा १४ जनाले उक्त पदका लागि आकांक्षा देखाएका हुन् ।
सरकारले बीमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि समिति गठन गरेको थियो । उक्त समितिले भदौ १४ गते एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो ।
आवेदन दिने समय भदौ २० गते शुक्रबारसम्मका लागि तोकिएको थियो । जसमा १४ जनाले अध्यक्षका लागि आवेदन दिएका हुन् ।
प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेहरूमा घनश्याम बुढाथोकी (ललिपुर), विक्रान्त पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णबाबु मिश्र (काठमाडौं), बुद्धकाजी श्रेष्ठ (काठमाडौं), डा दमोदर बसौला (कास्की) र चिन्तामणि शिवाकोटी (काठमाडौं) छन् ।
त्यस्तै ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्रा.डा. दिपकबहादुर भण्डारी (लमजुङ), डा. राजेन्द्र पण्डित (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेश्वर न्यौपाने (भक्तपुर)ले पनि प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका छन् ।
गत भदौ ९ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् ।
सिफारिस समितिले तोकिएको मितिभित्र परेका आवेदनको अध्ययन गरी नाम सर्टलिस्ट गर्नेछ । त्यसपछि समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाक्नेछ। अनि समितिले ती उम्मेदवारले प्राप्त गरेको अंकका आधारमा ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ ।
मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएकामध्ये एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।