काठमाडौं । दुई दिनसम्म चलेको जेन जीको आन्दोलनका कारण देश अब कता जाला भन्ने धेरैको मनमा प्रश्न रहेको छ । यही आन्दोलनका कारण केपी शर्मा ओली प्रधानमन्त्री पद छाडेर भाग्न बाध्य भएका थिए ।
त्यसपछि देशमा शान्ति सुव्यवस्था कसरी बहाल होला भन्ने आम चासो र चिन्ताका बीच नेपाली सेनाले गए राति १० बजेदेखि कमान्ड सम्हालेको छ । कमाण्ड सम्हालेलगत्तै सेनाले लुटपाटमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनका कारण राज्यका तीनवटै अंग संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी भएको छ । ती संरचनालगायत राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, मन्त्री क्वाटरलगायतका संरचना ध्वस्त भएका छन् ।
नेता तथा मन्त्रीका घर मात्र नभएर निजी उद्योग व्यवसाय तथा सरकारी भवनहरू पनि आन्दोलनकारीको निशानामा परेका छन् । जसका कारण ती संरचना ध्वस्त भएका छन् ।
जेन जीको आन्दोलनको पहिलो दिन राज्यले चरम दमन गरेसँगै दोस्रो दिनको आन्दोलन उग्र बन्दा नियन्त्रणबाहिर गएको थियो । जसका कारण ओली पद छाड्न बाध्य भएका थिए ।
उनले पद छाडेसँगै अब सरकार कसरी गठन हुन्छ भन्ने आम चासो र चिन्ता रहेको छ । धेरैले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनलाई आगामी सरकारको नेतृत्वकर्ता हुन सक्ने भनेर अनुमान गरेका छन् ।
तर, नेपालको संविधानले गैरसांसद प्रधानमन्त्री हुने कल्पना गरेको छैन । अनि बालेन सांसद होइनन् । त्यसैले कतिपयले उनी प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउने गरेका छन् ।
तर, कतिपयले भने यति ठूलो आन्दोलन र उथलपुथलपछि अब संविधानको सीमाभित्रबाट निकास निष्कन नसके त्यसभन्दा बाहिर जानुपर्ने पनि हुन सक्ने बताउने गरेका छन् ।
बालेनले भने हिजै सेनासँग पनि वार्तामा बस्नुपर्ने हुन सक्ने बताएका छन् । त्यसो त राष्ट्रपति र नेपाली सेनाले पनि वार्ता र संवादबाटै समाधान निकाल्न आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन् । सोहीअनुसार आज जेन जीका प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारी छ ।