मेरो अपिल
गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए त्यो हाम्रो इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता थियो । २४ गते भदौका दिन हाम्रो मुलुकमाथि तोडफोड, आगजनी, लुटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरूमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक थियो ।
यसबाट प्रत्यक्ष देखिएको राष्ट्रिय क्षतिको घाउ जति असह्य छ त्यसभन्दा बढि यी घटनाले अदृष्य ऐठनका रूपमा दशकौँसम्म हाम्रा सन्तान दरसन्तानलाई झस्काइ रहने छ ।
यी घटनाहरू सरकारको दुर्बुद्धिका कारणले मात्रै भएका होइनन् बरु सत्तासिन खलनायकका बेबकुफीमाथि सुनियोजित षडयन्त्रकारीहरूले कलमी गरेर फलाएको हलाहल विष थिए भन्ने कुरा स्पष्ट हुँदै छ । यस क्रममा हाम्रा अग्रजहरू र हामी आफैले सदियौँ/दशकौँदेखि निर्माण गरेका देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि जुन खेलबाड हुँदैछ त्यसले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमान्दार सदस्य तथा समर्थक-शुभचिन्तकहरूमा कहिल्यै नब्यहोरिएको पीडा, ग्लानी र छलपटी उत्पन्न गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रले जुन जिम्मेवारी र नैतिक मूल्यको नेतृत्व खोजेको थियो त्यसको अभावमा आज हामीले यो दिन देख्नु पर्यो । हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाईं चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दैछौँ ।
राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरू पार्टी नेतृत्वमा भर्ति गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो । प्रश्न उठाउने तल्लो पङ्तिका असङ्ख्य कार्यकर्ताहरूको आवाज सबैजसो पार्टीका तथाकथित केन्द्रीय कमिटीहरूमा अल्पमतमा परिरह्यो । जसको एकमुष्ठ परिणामस्वरुप हामी आफ्नै इतिहासको भग्नावशेषका डिलमा उभिएर यो सारा विध्वंशमा नजर डुलाउँदै छौँ ।
२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको योभन्दा हरिविजोग कहिल्यै हुने छैन ।
अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु ।
म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खासगरि नेकपा एमाले र नेकपा माओवादीको स्कूलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा साँस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्न चाहान्छु: हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।
फेसबुकबाट ।