काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सोमबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
कार्कीले लोकप्रिय व्यक्तिहरूलाई मन्त्री बनाएकी छन् । उनले अर्थमन्त्रीमा रामेश्वर खनाललाई नियुक्त गरेकी छन् । उनी अर्थसचिव रहीसकेका मानिस हुन् । जसका कारण उनले मुलुकको अर्थतन्त्र राम्ररी बुझेका छन् भन्न सकिन्छ ।
खनालको चर्चा इमान्दार कर्मचारीको रूपमा हुने गर्दछ । उनले अर्थ सचिवबाट राजीनामा दिएसँगै उनको चर्चा थप बढेको थियो । त्यसयता उनले मुलुकका विभिन्न जिम्मेवारीहरू पूरा गरेका छन् । तर, व्यक्तिगत रूपमा विवादमा आएका भने छैनन् ।
एकातर्फ मुलुकको अर्थतन्त्र बुझेको, प्रशासनिक भूमिकाको विषयमा जानकार र विभिन्न जिम्मेवारीमा रहँदा पनि खासै विवादमा नआएका खनालले अर्थतन्त्रको कमान पाएका छन् ।
त्यस्तै अर्का मन्त्री हुन् कुलमान घिसिङ । घिसिङलाई कार्कीले ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास गरी तीनवटा मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
घिसिङ दुई पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहीसकेका व्यक्ति हुन् । उनले प्राधिकरणको नेतृत्व गरेसँगै मुलुकमा लोडसेडिङ अन्त्य भएको थियो । जसका कारण उनी उज्यालोका नायकका रूपमा परिचय बनाउन सफल भएका छन् ।
घिसिङले अर्बौं घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजान सफल भएका थिए । लोडसेडिङ अन्त्य तथा घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेको भन्दै उनको प्रशंसा भइरहेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई प्राधिकरकणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । जसका कारण सरकारको आलोचना चुलिएको थियो ।
घिसिङ निकै लोकप्रिय व्यक्तिका रूपमा देखिएका छन् । जसका कारण आन्दोलनको नेतृत्व गरेको जेनजी पुस्ताले पनि उनलाई रुचाएको देखिन्छ ।
कार्की नेतृत्वको सरकारका अर्का मन्त्री हुन् ओमप्रकाश अर्याल । अर्यालले गृह एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कमान पाएका छन् ।
मूलत अर्याल अधिवक्ता हुन् । पछिल्लो समय उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनको कानुनी सल्लाहकारको भूमिकामा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरिबन्धु टीस्टेटको जग्गा प्रकरणले यो उचाइ पउनुमा अर्यालको ठूलो भूमिका छ । यो प्रकरणमा उनैले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसका कारण अदालतले यो प्रकरणमा ओलीलाई झड्का दिएको थियो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन पनि अर्यालकै भूमिका थियो । अर्यालले नै उनीविरुद्ध मुद्दा दायर गरेका थिए । त्यसैले उनी पनि आफ्नो क्षेत्रमा स्थापित व्यक्ति हुन् ।
त्यस्तै यो जेनजी आन्दोलनलाई अवतरण गराउन र एउटा तहको सहमति गर्नमा अर्यालको भूमिका महत्त्वपूर्ण थियो । कानुनी विज्ञताका हिसावले जेनजीको पुस्ताका तर्फबाट उनले पनि वकालत गरेका थिए ।
यसरी हेर्दा कार्कीले सरकारमा विषयविज्ञ, समाजमा स्थापति, अनुभवी तथा लोकप्रिय व्यक्तिहरूलाई छानेकी छन् । जसका कारण सरकारको लोकप्रियता बढाउन सकियोस् भन्ने उद्देश्य र सुशासन कायम गर्नु दुईवटा उद्देश्य रहेको हुन सक्छ ।