काठमाडौं । माओवादी केन्द्रको विवाद रोकिने छाँट देखिएको छैन । अझ यो एक कदम अगाडि बढेर सामाजिक सञ्जालहरूमा आरोप प्रत्यारोपको स्तरमा पुगेको छ ।
खासगरी पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै औँला ठड्याइरहेका छन् । तर उनलाई प्रचण्डमाथि औँला ठड्याउन सहज भए पनि आफ्नो जिम्मेवारीको जवाफ दिन भने सहज देखिएको छैन ।
शर्मा लामो समयदेखि माओवादी केन्द्रको उच्च नेतृत्वमा रहँदै आएका नेता हुन् । अनि उनले पटकपटक राजकीय जिम्मेवारी पनि पाएका छन् । र, शर्माले पाएको त्यस्तो जिम्मेवारीमा प्रचण्डको पनि सम्मति थियो भन्नेमा माओवादीभित्र विवाद छैन । किनकी प्रचण्डले नचाहेको भए शर्माले त्यस्तो जिम्मेवारी पाउने सम्भावना थिएन ।
पार्टीको पछिल्लो महाधिवेशनबाट शर्माले महासचिवमा आकांक्षा देखाएका थिए । महासचिवका अर्का आकांक्षी थिए- वर्षमान पुन । शर्मा र पुन दुवै पार्टीभित्र पटक पटक अवसर र लाभको पदमा पुगेका व्यक्ति हुन् ।
दुवै नेताको तीव्र प्रतिस्पर्धा बढेपछि प्रचण्डले तेस्रो विकल्पका रूपमा देव गुरुङलाई महासचिव बनाए अनि पुन र शर्मालाई उपमहासचिवमा सीमित गरे ।
शर्मामाथि लागेको आरोप के हो भने- त्यसयता उनले पार्टी काममा पर्याप्त क्रियाशीलता देखाएका छैनन् । बरु गुट निर्माणमा समय खर्चेका छन् । उनी आफ्नो गुट निर्माणमा लागेकै कारण संसद तथा सार्वजनिक कार्यक्रमहरूमा विचार र मन्तव्य दिँदा पनि पार्टी र नेतृत्वको पक्षमा अडानका साथ प्रस्तुत हुन छाडेको चर्चा पार्टी पङ्क्तिबाट उठेको छ ।
अहिले सामाजिक सञ्जालहरूमा शर्माले नेतृत्व गर्दा उनको परिवारले पाएका अवसर, उनका नातागोतले पाएका एकपछि अर्को नियुक्ति र पदको चर्चा भइरहेको छ । खासगरी प्रचण्ड पक्षधर नेता कार्यकर्ताले शर्मालाई सामाजिक सञ्जाल फेसबुकबाटै कडा चुनौती दिइरहेका छन् । प्रश्नहरू सोधिरहेका छन् ।
उता शर्मा पक्षधर कार्यकर्ताहरूले त्यसको जवाफ दिने प्रयास त गरेका छन् तर उनीहरूको स्वर अर्को पक्षको जति बलियो देखिँदैन ।
त्यसो त पार्टी अध्यक्ष प्रचण्डले शर्मालाई पार्टी छाडेर जान भनेको समाचारहरू पनि सार्वजनिक भइरहेका छन् । र, प्रचण्डले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।
तर, न त शर्माले पार्टी नेतृत्वप्रति प्रश्न उठाउन छाडेका छन् । न त प्रचण्डले त्यसको सुनुवाइ नै गरेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनपछि पनि शर्माले पार्टी पुनर्गठन र पुनर्संरचनाको कुरा उठाइरहेका छन् । तर, त्यसको जवाफ शर्माले पनि दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा उनले पाएका विभिन्न पद, उनको परिवारले पाएको अवसरको फेहरिस्त प्रचण्ड पक्षधर कार्यकर्ताहरूले गर्न थालेका छन् ।