काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले विगतमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति माफी मागेका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले आफ्ना गल्तीहरूप्रति क्षमायाचना गरेका हुन् ।
'विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ,' पौडेलले वक्तव्यमा भनेका छन्, 'व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती कमजोर र भूलहरूप्रति क्षमायाचना गर्दछु ।'
जेनजी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न र दोषीहरूलाई कानुनबमोजिम कारीबाही गर्न पनि उनले माग गरेका छन् । साथै क्षतिग्रस्त सार्वजनिक र निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।
उनले जनता विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोश बुझ्न र सम्बोधन गर्न नसक्नु तथा भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनको मुख्य कारणहरूले भएको पौडेलले उल्लेख गरेका छन् ।
'तर, आन्दोलनका क्रममा भएका हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यतिकै निन्दनीय छ,' उनले भनेका छन् ।
