काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ ।
निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १७ जनाको मृत्यु भएको हो ।
यी तीन दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका छन् । विपद्का ३० वटा घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो ।
‘विगत तीन दिनमा सबैभन्दा बढी बिहीबार १४ जनाको प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएको छ । यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको देखिन्छ,’ केन्द्रका प्रमुख वस्तीले भने ।
बिहीबार एकाबिहानै स्याङ्जाको वालिङ नगरपालिका– १४ को तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको हो । सो घटना सडक विभागले बनाएको अव्यवस्थित सडक पूर्वाधारका कारण भएको स्थानीयले बताएका छन् ।
सो घटनामा तीन घर पहिरोले बगाएको थियो । सानी परियारको घरका १० जनामध्ये ७ महिने शिशुसहित ९ जनालाई पहिरोले पुरेको थियो भने अन्य एक जना घाइते छन् ।
घाइतेको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिहीबार नै पाल्पाको रम्भा गाउँपालिका–२ सुरुंगडाँडाकी २७ वर्षीया मोतीसरा गाहको पनि पहिरोले घर बगाउँदा बगेर मृत्यु भएको हो ।
यसैगरी, बाग्लुङको कातीखोलामा पहिरोले बगाउँदा बिहीबार नै एक जनाको ज्यान गएको हो । यस्तै, बिहीबार नै कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा नगरपालिका–१३ का केशव भाट क्षत्रीको मृत्यु भएको हो । सो घटनामा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सवार जिप बाढीले बगाएको थियो ।
कपिलवस्तुको भलबाडमा विद्युत् लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा वाणगंगा नगरपालिका–७ स्थित कोइली नदीको कजवेमा बुधबार बाढीले जिप बगाएको थियो । जिप चालक गुल्मीका माधवप्रसाद पाण्डेको भने बुधबार साँझ नै शव भेटिएको थियो ।
यसैगरी, ६ गते गुल्मीमा २ जनाको पहिरोमा परी ज्यान गएको थियो भने ७ गते बुधबार मकवानपुरमा पहिरोले स्कर्पियोलाई पुर्दा एक जनाको ज्यान गएको थियो ।
राजधानी दैनिकबाट ।