काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आइतबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
जेनजी आन्दोलनपछि विकसित घटननक्रममा पुराना दलहरूको पुनर्संरचना हुनुपर्ने माग उठ्दै आएको छ । अन्य दलहरूमा पनि त्यस्तो माग उठीरहेको भए पनि प्रचण्डले भने सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको बैठकमा प्रचण्डले विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका एक पदाधिकारीले जानकारी दिए ।
पार्टीको केन्द्रीय समितिमा युवालाई नेतृत्वमा ल्याउनेगरी सबै कमिटीको अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने गरी प्रचण्डले बैठकमा प्रस्ताव राखेको ती नेताको भनाइ छ ।
बैठकमा प्रचण्डले अहिलेको परिवर्तनपछिको संक्रमण अन्त्यका लागि चुनावमा भाग लिएर जानुपर्ने बताए । चुनाव नै अहिलेको निकास भएकाले आजैदेखि सबै तहका कमिटिहरूलाई चुनाव केन्द्रित कार्यक्रम गर्न उनले प्रस्ताव गरेका छन् ।
'कांग्रेस र एमाले जस्तो हाम्रो पार्टी हुनै सक्दैन । हामीले अहिलेसम्म पनि कुनै पनि प्रकारको बहुमत पाएर अर्थात एकल सरकारको नेतृत्व पनि गरेका छैनौँ । हामीले सुशासन दिँदा सरकार ढलाइएको हो । हामीले पहिले नै प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको राख्दा नमानिएको हो । आज त्यहीँ कुरा पुष्टि भएको छ,' बैठकमा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै ती नेताले भने ।
प्रचण्डले अब सबै पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आयोजक समिति राख्ने प्रस्ताव पनि गरेका छन् । यो प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेपछि लागू हुनेछ ।