काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सोमबार थप चार जना मन्त्रीलाई नियुक्ति गरेसँगै उनी नेतृत्वको मन्त्रीमण्डल ८ सदस्यीय बनेको हो ।
सोमबार पाँच जनालाई मन्त्री बनाउने तयार भए पनि एउटा नाममा विवाद आएपछि अन्तिम समयमा आएर नाम होल्ड भएको थियो । यससँगै चार जना मन्त्रीले शपथ लिएका हुन् । यसअघि कार्कीले तीन जनालाई मन्त्री बनाइसकेकी छन् ।
कार्कीले आफू नेतृत्वको मन्त्रीमण्डलमा समाजमा आफ्नो क्षेत्रमा सफल मानिएका र प्रतिष्ठा कमाएका व्यक्तिहरूलाई चुनेकी छन् । जसको अर्थ उनी आफ्नो सरकारको पक्षमा जनमत बनोस् भन्नेमा सचेत रहेको देखिन्छ ।
आज हामी कार्की नेतृत्वको मन्त्रिपरिषद्मा को कस्तो व्यक्ति मन्त्री बन्यो भन्ने बारेमा चर्चा गर्दैछौँ ।
सुरुमा त कार्की स्वयं न्यायिक पृष्ठभूमिकी हुन् । लामो समय वकालत गरेकी उनी पछि न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकस पाएकी व्यक्ति हुन् ।
अवकासपछि पनि समसामयिक घटनाक्रमहरूबारे आफ्नो धारणा सार्वजनिक गर्न नहिच्किचाउने कार्की हकी स्वाभावकी मानिन्छिन् ।
रामेश्वर खनाललाई अर्थमन्त्री बनाइएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
खनाल मूलतः पूर्वप्रशासक हुन् । उनी अर्थसचिव भइसकेका व्यक्ति हुन् । अर्थसचिव हुँदा उनले पदबाट राजीनामा दिएका थिए । अर्थतन्त्रको कमान सम्हाल्न आइपुगेका खनाललाई नेपाली अर्थतन्त्रको जानकार व्यक्तित्वका रुपमा लिइन्छ ।
कार्कीले कुलमान घिसिङलाई ऊर्जामन्त्री बनाएकी छन् । भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालयको कमान पनि उनैले सम्हालेका छन् ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । उनले लामो समय त्यहाँको नेतृत्व गरे । त्यसैले उनलाई ऊर्जा क्षेत्रमा विज्ञ व्यक्तित्वको रूपमा हेरिन्छ ।
नेपालमा लोडसेडिङको अन्त्य हुँदा घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक थिए । त्यसपछि उनको लोकप्रियता बढेको हो । सोही कारण उनी मन्त्री बन्न पनि सफल भए ।
ओमप्रकाश अर्याल कानुन व्यवसायी हुन् । कानुन व्यवसायीको रूपमा उनले राम्रै प्रतिष्ठा कमाएका पनि छन् ।
लोकमानसिंह कार्कीमाथि प्रश्न उठाएर अख्तियार प्रमुख बन्न उनको अयोग्यता अदालतबाट प्रमाणित गराउने श्रेय अर्याललाई नै जान्छ । त्यस्तै गिरिबन्धु टीस्टेट प्रकरणलाई पनि यो स्तरमा पुर्याउन उनको ठूलो भूमिका छन् ।
थुप्रै चर्चित मुद्दामा बहस र पैरवी गरेका अर्याल पछिल्लो समय भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कानुनी सल्लाहकारको भूमिकामा थिए । उनी आफ्नो क्षेत्रमा सफल मानिन्छन् ।
प्रधानमन्त्री कार्कीले अनिल कुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, भूमि मन्त्रालयको कार्यभार सुम्पिएकी छन् । मन्त्री सिन्हा पनि न्यायिक पृष्ठभूमिका व्यक्ति हुन् । उनी पनि सर्वोच्च अदालतका न्यायाधीश भइसकेका व्यक्ति हुन् ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयको कमान पाएका मदन परियार भने अनुसन्धाता हुन् । आफ्नो क्षेत्रमा गहिरो ज्ञान भएका उनी आफ्नो क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिमा पर्छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका जगदीश खरेल भने सञ्चारक्षेत्रका व्यक्तित्व हुन् । पत्रकारितामा संलग्न रहेका उनी अन्तर्वार्ताहरूमा तीखा प्रश्न गर्न प्रख्यात छन् ।