काठमाडौं । जेनजी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएर 'भाग्न' बाध्य भएका केपी शर्मा ओलीको एउटा भिडियो वक्तव्य सार्वजनिक भएको छ ।
त्यसो त आन्दोलन साम्य भएपछि गुण्डुस्थित भाडाको घरमा सरेका ओलीले यसअघि पनि फेसबुक पोस्टमार्फत एक सन्देश जारी गरेका थिए । तर, त्यसयता उनको भिडियो सन्देश भने पहिलोपटक सार्वजनिक भएको हो ।
उनले आफ्नो गुण्डु निवासमा पुगेका युवा संघका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै गर्दाको भिडियो खिचेर एमाले नेता महेश बस्नेतले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका छन् ।
उक्त भिडियोमा उनले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन भने देश र जनतालाई माया गर्ने युवा पङ्क्ति बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रूपमा, देश बनाउने कर्मठको रूपमा जानुपर्दछ’, ओलीले भनेका छन्, ‘हाम्रो आनीबानी बरव्यवहार, बोलीचाली अत्यन्तै मिठो, सुमधुर हुनुपर्दछ । समाज उपयोगी हुनुपर्दछ ।’
‘सामाजिक सञ्जालको प्रभावमा पर्ने,डिजिटल प्लेटफर्महरूमा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार नगरिकन हल्काफुल्का ढंगले चल्ने प्रवृत्तिहरू बढेका छन्,’ उनले भने ।
आन्दोलनले देशमा ठूलो क्षति भएको र यस क्षतिबाट उठाएर देशलाई अघि बढाउनुपर्ने ओलीको भनाइ छ । ‘सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन,' ओलीले भने, ‘अरु नै कुनै घुसपैठिया तत्त्वले गरे जो पहिले देखि नै भन्दैथिए त । सिंहदरबार जलाउछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।’
उनले बादल लागे पनि फेरी बादल फाट्ने र साँझ पर्यो भन्दैमा बिहान उज्यालो नहुने होइन भनेर बुझ्नुपर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते सरकारले चरम दमन गरेको थियो । जसका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।
धेरैले परिस्थिति बिग्रनु र ठूलो मात्रामा जनधनको क्षति हुनुमा ओलीलाई नै मुख्य दोषीका रूपमा देखाएका छन् । तर, ओली भने आन्दोलनमा घुसपैठ भएको र अराजक तत्त्वले विध्वंश मच्चाएको जिकिर गर्दै आएका छन् ।
कतिपयले ओलीले यो घटनामा माफी माग्नुपर्ने पनि बताउँदै आएका छन् । तर, त्यस्ता विश्लेषणहरूको सुनुवाइ हुने गरी आज सार्वजनिक भएको भिडियोमा पनि ओलीले गल्ती महशुस गरेर माफी मागेको भने देखिँदैन ।