काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग भारत र चीन दुवै देशका राजदूतले भेटवार्ता गरेका छन् ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार मंगलबार दुवै देशका राजदूतले अर्थमन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । राजदूतद्वयले अर्थमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको पाण्डेयले जानकारी दिएका छन् ।
भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका मन्त्रालयले जनाएको छ । उनले नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याएका थिए ।
भेटमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको बताएका मन्त्रालयले जानकारी दिएको छ ।
उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको बताएका थिए ।
सो अवसरमा नेपाल भारतबीचको व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
त्यस्तै चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिएका थिए ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताएका मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री खनालले नेपाल र चीन बैंकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदूतलाई अनुरोध गरेका पाण्डेयले जानकारी दिएका छन् ।
भेटमा चिनिया राजदूतले चीनले नेपाली जनताको छनौटलाई सधैँ सम्मान गर्दै आएको बताएका थिए । उनले चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।
साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरू सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने समेत बताएका प्रवक्ता पाण्डेयले जानकारी दिएका छन् ।