काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा (एमाले) दुवै डुबाएको टिप्पणी गरेका छन् । सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहंकार अझै कायमै रहेको उनले बताए ।
सर्लाहीको लालबन्दीमा आज (शनिबार) आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दशैँ, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले गुण्डुमा गुण्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।
‘केपी ओलीको हठ, घमण्ड र अहंकारले अहिले मुलुक र एमालेलाई ठूलो क्षति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहंकारले मुलुक जलेको छ,’ साहले भने ।
‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो,' साहले भने, 'मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’

उनले एमालेले ओलीलाई अगाडि नलगाओस् र नेपाली कांग्रेसले शेरबहादुर देउवा देखाएर दाईं नगरोस् भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरूलाई अब राजनीतिबाट स्थायी रूपमा बिदाई गर्नुको विकल्प नभएको बताए ।
देउवा दम्पत्तीलाई यो देशको माया नभएको साहले दाबी गरे । नत्र बाँच्नको लागि संघर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाइयो ? भागेर सुख पाईन्छ ? भन्दै उनले प्रश्न गरे ।
नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहीद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने साहको भनाइ छ ।
‘लोकप्रियतावादको हावा नेपालमा पनि चल्यो । अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुनसक्छ, देशभक्त हामी नेपाली चनाखो हुन जरुरी छ,’ साहले भने, ‘कागजी बाघहरू लुकेर अँध्यारो कोठाबाट षड्यन्त्रको तानाबाना बुनिरहेका छन्, हिरोइज्म देखाइरहेका छन् । हामी सचेत हुनुपर्छ ।’
अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने साहको भनाइ छ । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनको भनाइ छ ।
‘ठूला दलका ठूला नेता र यिनीहरूको आसेपासेलाई मेरो चुनौती छ– भ्रष्टाचारको बलमा आर्जन गरेको अकुत सम्पत्तिको धमाश नदेखाउनुहोस, युवाहरूको बलमा जनताले सेप्टेम्बर ८ र ९ एउटा गतिलै फिल्म देखाइसकेका छन्,' साहले भने ।