काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै क्यानले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टी-२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ । यो प्रतियोगितामा नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।
क्यानले वेस्ट इन्डिजसँगको शृङ्खला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट १५ सदस्यीय टोली घोषणा गरेको हो । सो टोलीबाट साहब आलम बाहिरिएका छन् ।
क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान) र दीपेन्द्र सिंह ऐरी (उपकप्तान) रहनेछन् । त्यस्तै कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी नेपाली टोलीमा रहनेछन् ।