काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको दाबी गरेका छन् ।
बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीलगायतमा आगो लगाएर ध्वस्त बनाउन राष्ट्रविरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन् ।
‘प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरूसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंश मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेक होल्डर हुन्’, उनले लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्ताबेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् ।’
शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै पाएको बर्तोलाको दाबी छ । त्यसैकारण फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको उनको भनाइ छ ।
यस्तो छ बर्तौलाको स्टाटसः
''राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ''
प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरूसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंश मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन ।
हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन् ।
सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी ।
शुद्ध नेपाली जेनजीहरूले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शफतग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए ।
जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनु ।
