काठमाडौं । बिहीबार नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले भक्तपुरको गुण्डुमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको मुख्य आकर्षण थिए- पार्टी अध्यक्ष केपी शर्मा ओली ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्रीबाट राजीनामा दिएर भाग्न बाध्य भएका ओली अहिले गुण्डुमा बसोबास गर्दै आएका छन् । उनको बालकोटस्थित घर जलेकाले उनी अहिले गुण्डुमा बसोबास गर्दै आएका छन् ।
संयोग जेनजी आन्दोलनका कारण सत्ता छाड्न बाध्य भएका ओलीले त्यसको ठीक एक महिनापछि गुण्डुबाट सरकारलाई चुनौती दिए । एमालेले पनि ओलीलाई पायक पर्ने गरी गुण्डुमै कार्यक्रम राखेको थियो ।
त्यसो त, ओलीको कार्यशैलीलाई लिएर एमाले भित्रैबाट पनि विरोध हुन सुरु गरेको थियो । जेनजी आन्दोलनपछि त्यो अझ बढी मुखर भएको छ । यद्यपि, पछिल्लो समय पोलिटब्युरो सदस्य महेश बस्नेतले भने उनलाई दरो साथ दिएका छन् ।
आन्दोलनपछि भयकै अवस्थामा पनि गुण्डुका स्थानीय बस्नेतकै अगुवाइमा गुण्डुमा ओलीलाई निवासको व्यवस्था मिलाइएको थियो । त्यसपछि उनी गुण्डु सरेका थिए ।
आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा 'भाषण' गरेका ओलीले अहिलेको सरकारलाई चुनौती दिए । अनि भने- यो हाहा हुहुको सरकार हो । उनले आफूले अहिले संक्षेपमा हाहा हुहुको सरकार भने पनि समय आए थप व्याख्या गर्ने बताए ।
ओलीले अहिलेको सरकारलाई गैरसंवैधानिक मात्र भनेनन् कुनै जननिर्वाचित निकायले नचुनेको भन्दै सरकारको वैधतामा गम्भीर प्रश्न उठाए ।
सरकारले जेनजी आन्दोलनबारे जाँचबुँझ गर्न बनाएको आयोगलाई एमालेले अस्वीकार गर्ने घोषणा गरे । प्रधानमन्त्री सुशीला कार्कीको डरले आफू नभाग्ने पनि भने ।
अनि, गृहमन्त्री ओमप्रकाश अर्यालको नाम आफूले गृहमन्त्री हुनुअघि नसुनेको मात्र बनाएनन् बढी नचिम्कन चेतावनी दिए ।
उनले संसद विघटन असंवैधानिक भने । आफूहरूमाथि भ्रष्टाचारमा छानबिन गर्न चुनौती दिए अनि अहिलेका सरकारका मन्त्रीहरूलाई पनि त्यसका लागि तयार रहन चुनौती दिए ।
मूलतः ओलीले प्रस्ट सन्देश दिए- उनी यो सरकारलाई स्वीकार्ने पक्षमा छैनन् । यो सरकार संविधानसम्मत नबनेको ओलीको विश्लेषण रहेको बुझिन्थ्यो । अनि उनले आफू सुशासनको पक्षमा रहेको पनि बताए ।
अर्को कुरा कार्की नेतृत्वको सरकारले बनाएको आयोगको र त्यसका संयोजकमाथि उनले गम्भीर प्रश्न उठाए । र, उक्त आयोगलाई आफूहरूले अस्वीकार गर्ने बताए ।