काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सम्पादकहरूसँग संवाद गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, संविधान र लोकतन्त्रको संरक्षण, आगामी प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय सहमति र सहकार्यको आवश्यकता लगायत विषयमा आफ्नो भनाइ राखे ।
‘नेपाल अहिले संवेदनशील राजनीतिक मोडमा छ । जेनजी आन्दोलनले युवापुस्ताको असन्तोषलाई स्पष्ट देखाएको छ । तर त्यसलाई अवसरका रूपमा लिन सके, देशको राजनीतिक प्रणाली अझ सशक्त र उत्तरदायी बन्न सक्छ,’ उनले भने ।
राजनीतिक दलले अब युवा पुस्ताको असन्तोषलाई सत्रु होइन, सुधारको सन्देशका रूपमा ग्रहण गर्नुपर्ने उनको भनाइ छ ।

जेनजी आन्दोलनबारे के भन्छन् प्रचण्ड ?
प्रचण्डले हालैको जेनजी आन्दोलनलाई नेपालमा लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण संकेतका रूपमा व्याख्या गरे । आन्दोलनका कारणमा सरकार, राजनीतिक दल र राज्य संयन्त्र सबैले आत्ममूल्याङ्कन गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।
‘राज्यको अस्तित्व जनताको विश्वासमा टेकेको हुन्छ । त्यो विश्वास कमजोर हुन थाले लोकतन्त्र कमजोर हुन्छ । त्यसैले असन्तुष्टि र आवाजलाई दमन होइन, संवाद र सहमतिले सम्बोधन गर्नुपर्छ,’ प्रचण्डले भने ।
उनले आन्दोलनका क्रममा भएका केही घटना दुःखद र अस्वीकार्य भएको बताए । शान्तिपूर्ण विरोध जनाउने नागरिकमाथि बल प्रयोग गर्नु गलत भएको उनको भनाइ छ ।
‘राज्यले सहिष्णुता र जिम्मेवारी देखाउनैपर्छ । लोकतन्त्रलाई बलियो बनाउन विरोध र असन्तोषलाई सुन्न सक्ने संस्कृति विकास गर्नुपर्छ,’ प्रचण्डले भने ।
संविधानबारे
संविधान नेपालको राष्ट्रिय गौरव भएको बताएका प्रचण्डले यसलाई संशोधनमार्फत अझ सशक्त र समावेशी बनाउनुपर्ने बताए ।
‘संविधानलाई स्थिरता र समृद्धिको जग बनाउनुपर्छ । यसका कमजोरीलाई राजनीतिक सहमतिबाट सुधार्ने बाटो रोज्नुपर्छ, अस्थिरता निम्त्याउने बाटो होइन,’ उनले भने ।
देशमा स्थिरता र विकासको लागि राजनीतिक दलबीच सहकार्य अनिवार्य रहेको प्रचण्डको भनाइ छ । दलबीचको प्रतिस्पर्धा लोकतान्त्रका लागि आवश्यक भए पनि राष्ट्रका प्रमुख हितका मुद्दामा साझा दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ । ‘हामी सबैले देशलाई असफल देखाउन खोज्नेलाई असफल पार्नुपर्छ,’ उनले भने ।

चुनवाबारे के भन्छन् प्रचण्ड ?
प्रचण्डले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै त्यसलाई जनताको विश्वास पुनःस्थापना गर्ने मौकाका रूपमा लिनुपर्ने बताए ।
उनले निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । माओवादी केन्द्रले सामाजिक न्याय, समावेशीता, समान अवसर र युवाको भविष्य सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘हामी जनताको आवाज सुन्न तयार छौँ । जनताको शासन बलियो बनाउन र युवापुस्तालाई भविष्यप्रति आशावादी बनाउन हाम्रो पार्टी दृढ छ,’ प्रचण्डले भने ।
सञ्चारमाध्यमको भूमिकालाई के भने प्रचण्डले ?
प्रचण्डले सम्पादकलाई सम्बोधन गर्दै सञ्चारमाध्यमको निष्पक्षता, संयमता र राष्ट्रप्रतिको उत्तरदायित्वबारे विशेष जोड दिनुभयो । उनले भने, ‘सञ्चारमाध्यमले जनताको चेतना निर्माण गर्छ । त्यसैले मिडिया विभाजन होइन, एकताको सन्देश प्रवाह गर्ने माध्यम हुनुपर्छ ।’
उनले सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको अभ्यासले मात्र लोकतन्त्रलाई सबल बनाउने बताए । सञ्चारमाध्यम र राजनीतिक शक्तिबीच सहकार्यको वातावरण सिर्जना गर्न सक्नुपर्छ भन्नेमा उनले जोड दिए ।

युवा पुस्ताका सम्बन्धमा के भने ?
उनले नयाँ पुस्तालाई देश निर्माणको अग्रपंक्तिमा ल्याउन राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताए । शिक्षित र सीपयुक्त युवाको क्षमता देशभित्र उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
‘युवालाई सुन्नु भनेको भविष्यलाई सुन्नु हो,’ प्रचण्डले भने, ‘यदि हामीले युवाको सपना सुन्न सकेनौँ भने हामी भविष्यप्रति उत्तरदायी रहँदैनौँ ।’