काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडको अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गरिने भएको छ ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको हो ।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई भदौ १९ गतेदेखि असोज २३ गतेसम्म शेयरधनीहरूबाट हकप्रद शेयरका लागि आवेदन माग गरेको थियो ।
त्यसरी आवेदन माग हुँदा सर्वसाधारण समूहतर्फ ८ लाख ६५ हजार ८४५ कित्ता शेयरमा भने आवेदन परेको थिएन । आवेदन नपरेको सोही ८ लाख ६५ हजार ८४५ कित्ता शेयर कम्पनीले लिलाम बढाबढबाट बिक्री गर्ने भएको हो ।
कम्पनीका अनुसार यो शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आवेदन दिने सुरु मिति अर्थात शिलबन्दी बोलपत्र पेस गर्ने सुरु मिति कात्ति २० गतेलाई तोकेको छ । त्यस्तै बोलपत्र पेस गर्ने अन्तिम मिति भने कात्तिक २७ गतेसम्म रहने कम्पनीले जनाएको छ ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई तोकेको छ ।
जसका कारण सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजारमा बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान तोकिएको छ ।
त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका शाखाहरू कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायढगढ, धनगढी, पोखरा (न्युरोड), बुटवल (पाल्पा रोड) र हेटौँडामा पनि बोलपत्र पाइने र बुझाउन सकिने स्थान तोकिएको छ ।
बोलपत्र आवेदन फारम १०० रुपैयाँमा पाइनेछ भने शेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेश गर्दा सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने तर अधिकतम संख्याको लागि भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
तर, न्यूनतम कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
