काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज हुने खेलमा नेपालले अमेरिकाको सामना गर्दै छ ।
यूएईमा नेपाल, अमेरिका र यूएईबीच त्रिकोणात्मक शृङ्खला हुन लागेको हो । उक्त शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्न लागेको हो ।
नेपाल र अमेरिकाको खेल बिहान सवा ११ बजे सुरु हुँदै छ । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग-२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो ।
लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।
पौडेलको कप्तानीमा रहेको नेपाली टिमको उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन् । त्यस्तै टिममा सन्दीप लामिछाने, आशिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शहाब आलम रहेका छन् ।
यो त्रिकोणात्मक शृङ्खला आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म चल्नेछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार नेपाल र यूएईबीचको खेल हुनेछ ।
शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको भेट तय गरेको नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ ।
विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।
२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।