काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई वैधानिकता प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले यही पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्णयअनुसार नेपाली कांग्रेसको केन्द्रीय समिति अध्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको यस्तो निर्णयसँगै नेपाली कांग्रेसको सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरूमा प्रदीप पौडेल र गुरुराज घिमिरे नेतृत्वको कमिटीले वैधानिकता पाएको छ । उता शेरबहादुर देउवा नेतृत्वको कमिटीले भने वैधानिकता पाएन ।
यसअघि थापा नेतृत्वको कमिटी र देउवा नेतृत्वको कमिटी दुवैले निर्वाचन आयोगमा पुगेर वैधानिकता दाबी गरेका थिए । थापाको नेतृत्वले पार्टीको विधानअनुसार विशेष महाधिवेशन आयोजना भएकाले त्यसको निर्णय मान्य हुने बताएको थियो । तर, देउवा समूहले भने महाधिवेशन बोलाउने निर्णय केन्द्रीय समितिले मात्र गर्न सक्ने भएकाले विशेष महाधिवेशनको वैधानिकतामा प्रश्न उठाएको थियो ।
देउवाको पक्षबाट कांग्रेस कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले आयोगको निर्णयपछि प्रतिक्रिया दिँदै षड्यन्त्रपूर्वक निर्णय आएको बताए । यो निर्णय आफूहरूलाई मान्य नभएको र यसलाई खारेज गर्ने उनको भनाइ थियो ।
खड्काले शुक्रबारै पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरूले वैधानिकता नपाए आन्दोलन गर्ने चेतावनी दिएका थिए । आयोगको निर्णयपछि प्रतिक्रिया दिँदै खड्काले यो निर्णयविरुद्ध राजनीतिक, कानुनी र वैधानिक तीनै रूपमा लडाइँ लड्ने प्रतिक्रिया दिएका छन् ।
उता पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले भने आफूहरूले सबैलाई समेटेर लैजाने प्रतिक्रिया दिएका छन् । उपसभापति विश्वप्रकाश शर्माले मुद्दामामिलामा समय खेर नफाली नयाँ नेपालका लागि नवीन कांग्रेस निर्माणमा सहयोग पुर्याउन अपिल गरेका छन् ।