काठमाडौं । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले आफ्नो देश टोकियो ओलम्पिक र पारा ओलम्पिक खेल आयोजना गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै सुगाले यस्तो बताएका हुन् ।
यस वर्ष जुलाई-अगस्टमा टोकियो ओलम्पिक हुने कार्यतालिका थियो । सोही अनुसार जापानले आफूलाई तयार बनाएको पनि थियो । तर, कोरोना भाइरसको महामारीका कारण सिर्जित परिस्थितिले यो कार्यतालिका प्रभावित बन्न पुग्यो ।
महामारीसँगै सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२१ सम्मका लागि खेल स्थगित गरिदिएको थियो ।
आगामी वर्ष जुलाई २३ देखि अगस्ट सम्म टोकियो ओलम्पिक र अगस्ट २४ देखि सेप्टेमबर ५ सम्म पारा ओलम्पिक आयोजना गर्ने मिति तोकिएको छ ।
'जापान अगामी वर्ष टोकियो ओलम्पिक र पारा ओलम्पिक खेल आयोजना गर्न प्रतिबद्ध छ,' राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै सुगाले भनेका थिए ।
साथै उनले यसलाई मानवताले महामारीलाई पराजित गरेको सबुतका रूपमा बुझ्नुपर्ने पनिबताए । 'यो मानवताले महामारीलाई पराजित गरेको प्रमाण पनि हो,' सुगाले भनेका थिए, 'म यी खेलहरू सुरक्षित रूपमा आयोजन गर्न र सबैलाई स्वागत गर्नका लागि कुनै पनि कसर बाँकी राख्ने छैन ।'
किम जोङ उनसँग बिना सर्त भेट्न तयार
जापानी प्रधानमन्त्री सुगाले आफ्नो सम्बोधनमा भनेका छन्, उनी उत्तर कोरियाली शीर्ष नेता किम जोङ उनसँग बिना सर्त भेट्न तयार छन् ।
आफूले दुई राष्ट्रबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि बताए । सम्बोधनका क्रममा उनले आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई सुमधुर बनाउ चाहेको पनि बताए ।
सुगाले भनेका छन्, जापान र उत्तर कोरियाबीच रचनात्मक सम्बन्ध बनेमा त्यो केबल दुई देशका लागि मात्र फलदायी नभई क्षेत्रीय शान्ति तथा स्थिरताका लागि पनि महत्वपूर्ण हुने बताए ।