काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान यस वर्ष विवादमा परेको छ ।
पुरस्कार प्राप्त गर्ने सञ्जिव उप्रेतीले अर्का सम्मानित हुने श्रष्टा मोदनाथ प्रश्रितसँग मञ्च सेयर गरेर पुरस्कार लिन्न भनेपछि विवाद बढेको हो ।
विवाद बढ्दै जाँदा उप्रेतीले पुरस्कारै नलिने बताइसकेका छन् । उप्रेतीले प्रश्रितमाथि गम्भीर आरोप लागेकाले आफूले उनीसँग मञ्च सेयर गर्न नसक्ने बताएका थिए ।
विवाद बढ्दै जाँदा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले आफ्नो प्रतिक्रियामा उप्रेतीप्रति कटाक्ष गरेका छन् ।
'सन्जिव उप्रेतीजीले समाजको रुपान्तरणमा प्रश्रितको जस्तो योगदान गर्न नसकेका कारणले एकसाथ पुरुस्कार नलिने भनेको होला भनेको त सारदा झाले चर्चामा आउनका लागि गरिएको अप्रमाणित आरोपसंग जोडेर भन्नु भएको रहेछ,' पोखरेलले भनेका छन्, 'उहाँको कुरा सुन्दा साह्रै दुःख लाग्यो ।'
नेपाली समाज रूपान्तरणमा प्रश्रितले पुर्याएको योगदान अतुलनीय रहेको पोखरेलको भनाइ छ । एकाध कितावको सफलतासँग प्रश्रितको योगदानको तुलना हुन नसक्ने भन्दै पोखरेलले उप्रेतीलाई आफ्नो कमजोरी महसुश गरी सुधार गर्न पनि सुझाएका छन् ।
'प्रश्रितले नेपाली समाजको परम्परागत सामान्ती जडतालाई तोड्न र सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा पुर्याएको योगदान अतुलनिय छ,' पोखरेलको प्रतिक्रिया छ, 'एकाध कितावको सफलतासंग उहाँको योगदानको तुलना हुन सक्तैन । सन्जिवजीले आफ्नो कमजोरी महसुसगरी प्रश्रितजीलाई सम्मान गर्नुहुनेछ ।'