काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन् ।
खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ ।
तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो ।
बालुवाटार स्रोतका अनुसार कोभिड महामारीले अर्थतन्त्र समस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले पाएका छन् । तर प्रधानमन्त्री ओली पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन् ।
ओलीले नचाहेसम्म पाण्डेको सम्भावना न्यून भएको र विकल्पमा पौडेल देखिएको स्रोतको दाबी छ ।
‘पाण्डेलाई राष्ट्रपति र दाहालको साधारण समर्थनमात्र हो । हुनैपर्छ भन्ने अडान नेपालको मात्र हो’, बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले ओलीले जसलाई चाहन्छन् उनै अर्थमन्त्री बन्नेछन् ।’
स्रोतले पाण्डेलाई अन्य मन्त्रालय दिन ओली सहमत भएको जानकारी दियो । पाण्डे आफैंले भने अर्थबाहेक अन्य मन्त्रालयमा इच्छा देखाएका छैनन् ।
अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि पछिल्लो समय नयाँ अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी हुँदै गएको देख्छन् ।
आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।