काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसद्मा भएको छलफलमा तनाव भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को अवरोधबीच संसद् अगाडि बढाउँदा तनाव भएको हो ।
सरकारले औचित्यविना बुटवलबाट दाङमा राजधानी सार्न लागेको भन्दै कांग्रेस र जसपाका सांसदले बैठक अवरुद्ध गरे पनि सभामुख पूर्णबहादुर घर्तीले कुनै सुनुवाइ नगरी बैठक अगाडि बढाएका थिए ।
विरोध र नाराबाजी गर्दै रोस्ट्रममा पुगेका विपक्षी दलका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुखले बैठक अगाडि बढाएका थिए ।
पहिलो बैठक सुरु भएको १० मिनेटमै कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
२ बजे बस्ने भनिएको बैठक झन्डै साढे ३ बजे सुरु भएको थियो । बैठक पुनः सुरु भएलगत्तै कांग्रेस र जसपाका सांसदहरू फेरि रोस्ट्रममा पुगेका थिए ।
विपक्षी दलको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदहरूले कुर्सी टेबल फोडेका थिए ।
कांग्रेस सांसदहरू वीरेन्द्र कनौडिया, फकरुद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायत आफ्नो आवाजको सुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका थिए ।
सभामु्ख घर्तीले प्रस्तावउपर छलफल गर्न पर्याप्त समय नदिएको भन्दै नेकपाका सांसदहरूले समेत हात उठाइरहेका थिए । नेकपा सांसद भोजप्रसाद श्रेष्ठले हात उठाइरहे पनि उनलाई सभामुखले समय दिएनन् ।
त्यस्तै, नेकपाकै सांसद कृष्ण न्यौपाने र तुलसी चौधरीले बोल्ने समय दिन अनुरोध गर्दा सभामुखले समय दिएनन् । कांग्रेस सांसद निर्मला क्षेत्रीले संसद् निरंकुश शैलीमा अगाडि बढेको आरोप लगाइन् ।
पहिलो बैठक अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका नेता वीरेन्द्र कनौडियालाई आफ्ना धारणा राख्न समय दिएका थिए ।
सो अवसरमा बोल्दै विपक्षी दलका नेता कडौडियाले राजधानी सार्ने औचित्य पुष्टि गर्न आग्रह गरेका थिए । उनले सबै प्रदेशका अस्थायी राजधानी स्थायी भएको र प्रदेश ५ को राजधानी के कारण सार्नुपर्ने अवस्था आयो, त्यसको औचित्य चाहियो भन्दै प्रश्न गरेका थिए ।
आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।