काठमाडौं । कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ । दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ ।
तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का हुन नसक्दा कलह उत्कर्षमा पुगेको छ । परिणामतः आफ्नै पार्टीका सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
कर्णालीमा नेकपाभित्रको यो विवाद नयाँ भने होइन । प्रदेश सरकार गठन हुँदादेखि नै कर्णालीमा नेकपाभित्र विवाद र मतभेद थियो ।
चुनावी तालमेल गरेर पार्टी एकता गरेका तत्कालीन एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्वमा भागबन्डा भएपछि विवादको बीउ रोपियो । कर्णालीमा पूर्वएमालेका २० र पूर्वमाओवादीका १३ सांसद छन् ।
जब कि प्रदेशमा सरकार गठन गर्न २१ सांसद भए पुग्छ । ४० सदस्यीय प्रदेश सभामा आधा अर्थात् २० जना सांसद भएका कारण तत्कालीन एमालेले सुरुदेखि नै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको थियो ।
संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भए । केन्द्रमा नेताहरूबीच प्रदेश सरकारको नेतृत्वका लागि भागबन्डाको चर्चा चल्दै थियो । त्यही क्रममा तत्कालीन एमाले संसदीय दलको बैठकले निर्णय नै गर्यो, ‘प्रदेश सरकारको नेतृत्व अरूलाई दिन सकिँदैन, जनमतका आधारमा एमाले नै प्रदेशमा पहिलो छ । अरूको नेतृत्व कुनै पनि हालतमा स्वीकार्न सकिँदैन, त्यसो गर्नु जनमतको अपमान हुन्छ ।’
उक्त निर्णय पार्टी केन्द्रमा पनि पठाइयो । तर केन्द्रका नेताहरूबीच कर्णालीमा माओवादीलाई सरकारको नेतृत्व दिने सहमति भयो ।
केन्द्रले प्रदेशको आवाज नसुनेपछि अन्ततः यामलाल कँडेलले मुख्यमन्त्रीको दौड छाडे । २०७४ फागुन ३ गते तत्कालीन माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । केन्द्रले सुनुवाइ नगरेपछि पनि नेता कँडेलले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने प्रस्ताव मुख्यमन्त्री शाहीसँग राखेका थिए । तर कँडेलको उक्त प्रस्तावलाई मुख्यमन्त्री शाहीले पनि सुनेनन् ।
संसद्मा आधा सांसद हुँदा पनि सरकारको नेतृत्व गर्न नपाएपछि पूर्वएमाले भित्रभित्रै चिडिएको थियो । तर पछिल्लो समय बजेट कार्यान्वयन, राजनीतिक नियुक्ति, आयोगको गठन तथा नियुक्ति र योजना छनोटमा मुख्यमन्त्री शाहीले प्रदेशको पार्टी कमिटी तथा संसदीय दललाई नै बेवास्ता गर्न थालेपछि आफूहरू अविश्वासकै प्रस्ताव ल्याउन बाध्य भएको संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह बताउँछन् ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।